सरकार गठनका बेला गरिएका प्रतिबद्धता कार्यान्वयन गरिनुपर्छः नेता कोइराला

काठमाडौं, चैत २४ : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले वर्तमान सरकार गठनका बेला प्रमुख दुई दलबीच संविधान संशोधनलगायत विषयमा भएका सहमति कार्यान्वन गरिनुपर्ने बताएका छन्।
लेखक सुमन कर्माचार्यको ‘कात्रोमा खल्ती’ नामक पुस्तकको आज यहाँ लोकार्पण गर्दै उहाँले सहमति कार्यान्वयन गर्दै कमजोर रहेको देशको आर्थिक अवस्था सुधार गर्नेतर्फ ध्यान दिनुपर्ने बताए।
'सहमतिमा संविधान सशोधनसँगै सुशासन प्रवर्द्धन र भ्रष्टाचार न्यूनीकरण गर्ने घोषणा गरिएकामा नौ महिनासम्म आइपुग्दा त्यसको औचित्य पुष्टि गर्न सकिएको छैन । त्यसका लागि नेता र नेतृत्वमा इच्छाशक्ति हुनुपर्छ, अनि मात्र जनताको सेवामार्फत देश बनाउन सकिन्छ,' उनले भने।
नेपाललाई विकास र समृद्धिमा लैजान हरित ऊर्जा, कृषि र प्रविधिको विकास तथा विस्तारसँगै भ्रष्टाचार न्यूनीकरण र सुशासन प्रवर्द्धन तथा दण्डहीनता अन्त्य गरिनुपर्ने भन्दै उनले कानुन कार्यान्वयन संयन्त्रमा हाम्रा नभई राम्रा व्यक्ति छनोट गर्नुपर्नेमा जोड दिए।
अर्का एक प्रसङ्गमा नेता कोइरालाले नेपालगञ्जमा जननेता बिपी कोइरालाको शालिकमा हिजो कालोमोसो दलिएको घटनाले कांग्रेसीजनको मनमा केही असर परे पनि प्रजातन्त्रमा विश्वास गर्ने कोही पनि विचलित भने नहुने विचार व्यक्त गरे।
'कालोमोसो दल्दैमा बिपी कालो हुने होइनन्, उहाँलाई नेपाली कांग्रेसले मात्र नभई सबै नेपालीले राजनेता मानेका छन् । त्यो घटनाले पक्कै पनि हामीहरूको मनमा केही असर गर्छ, त्यो स्वभाविक हो तर त्यस्ता घटनाबाट प्रजातन्त्रमा विश्वास गर्ने कोही विचलित हुनहुन्न,' उनले भने।
-(38)-1744631065.jpeg)