नेपाल बारको मतगणना सोमबारबाट सुरू हुने

काठमाडौं, चैत २४ : नेपाल बार एशोसिएशनको २७ औं केन्द्रीय कार्यसमितिका लागि भएको निर्वाचनको मतगणना सोमबारदेखि मात्र हुने भएको छ ।
बारको नयाँ कार्यसमितिका लागि शनिबार मतदान भए पनि मतपेटिका काठमाडौं ल्याउन भएको ढिलाईले मतगणना हुन सकेको छैन । निर्वाचन समितिले बारको मतपेटिका आइतबार बेलुकासम्म काठमाडौं आइपुग्ने जनाएको।
बार केन्द्रीय कार्यसमितिमा अध्यक्ष, उपाध्यक्ष, महासचिवसहित कूल २५ जनाका लागि चुनाव भएको थियो ।
समितिले उपत्यका बाहिर ३६ वटा मतदान केन्द्रमा मतदान भएको बताएको छ । बारको नयाँ नेतृत्वका लागि अध्यक्षमा बृहत लोकतान्त्रिक, प्रगतिशली, पेसागत, राष्ट्रवादी एवं समावेशी कानुन व्यवसायी समूहबाट वरिष्ठ अधिवक्ता प्राडा विजयप्रसाद मिश्र र प्रगतिशिल, व्यावसायिक कानुन व्यवसायीका समूहबाट वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठविच प्रतिस्पर्धा भएको थियो ।
बार निर्वाचनमा वरिष्ठ अधिवक्ता प्राडा मिश्रको प्यानलबाट वरिष्ठ अधिवक्ता केदारप्रसाद कोइराला महासचिवका उम्मेदवार छन् भने वरिष्ठ अविधक्ता श्रेष्ठको प्यानलबाट अधिवक्ता यज्ञमणि न्यौपानेले प्रतिश्पर्धा गरेका छन्।
उपत्यका बाहिरबाट सबै बाक्सा आज आइपुग्ने र उम्मेदवारको प्रतिनिधि राखेर सोमबारबाट मतगणना हुने समितिले जनाएको छ।