Kathmandu Press

‘आगामी संसद अधिवेशनले शिक्षा र निजामती ऐन अघि बढाइन्छ’

नेता पोखरेलले ऐन यही अधिवेशनबाट टुङ्गाउने पक्षमा रहेपनि सम्भव नभएको भन्दै अब आउने अधिवेशनमा सबै विषयहरुलाई टुङ्गाउनुपर्छ भन्ने हिसाबले निर्देशन दिएको बताए।
‘आगामी संसद अधिवेशनले शिक्षा र निजामती ऐन अघि बढाइन्छ’

काठमाडौं, चैत २३ : नेकपा एमालेका महासचिव शंकर पोखरेलले संविधान कार्यान्वयनसँग सम्बन्धित कानुनहरु छिटोभन्दा छिटो बनाउनुपर्छ भन्ने मान्यतामा दुवै पार्टीहरु प्रतिबद्ध रहेको बताएका छन्। 

शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले ऐनहरु बन्न नसक्दा धेरै समस्याहरु आइरहेको भन्दै दुई दल मिलेर बनेको सरकारले कानून बनाउने, संयन्त्र बनाएर सहमति जुटाउने र कामलाई अगाडि बढाउने प्रक्रिया पनि अबलम्बन गरेको बता । 

‘खासगरि पेशागत क्षेत्रलाई नयाँ संरचना अन्तरगत व्यवस्थित गर्ने कुरामा एक प्रकारको अलमल भएको छ। निजामति ऐन बन्न नसक्दा, निजामती क्षेत्र अन्यौलताबाट गुज्रिरहेको छ। विद्यालय शिक्षा ऐन जारी हुन नसक्दा त्यस्तै प्रकारको समस्या शिक्षकहरुले भोगिरहनु परेको छ, उनले भने ‘तर अहिले दुइवटा दल मिलेर सरकार बनेपछि संविधान कार्यान्वयनसँग सम्बन्धित कानूनहरुका सन्दर्भमा छिटोभन्दा छिटो कानून बनाउनुपर्छ भन्ने मान्यतामा दुवै पार्टीहरु प्रतिबद्ध छन् र संयन्त्र बनाएर सहमती जुटाउने र कामलाई अगाडि बढाउने प्रक्रिया पनि अबलम्बन गरेको छ।’

नेता पोखरेलले ऐन यही अधिवेशनबाट टुङ्गाउने पक्षमा रहेपनि सम्भव नभएको भन्दै अब आउने अधिवेशनमा सबै विषयहरुलाई टुङ्गाउनुपर्छ भन्ने हिसाबले निर्देशन दिएको बताए।

‘निजामती, शिक्षालगायत ऐनको कुरा यसै अधिवेशनबाट टुङ्गाउनुपर्छ भन्ने मान्यताका पक्षमा थियौं। तर सम्भव भएन। अब आउने अधिवेशनमा यी सबै विषयहरुलाई टुङ्गाउनुपर्छ भन्ने हिसाबले निर्देशन पनि दिएका छौं। यो सफल हुने विश्वास पनि राख्न चाहन्छु,’ उनले भने।

संसदमा विचाराधिन विधेयकहरुको बारेमा उत्पन्न भएका मतभेदहरुलाई बसेर हल गर्नका लागि पनि दुई पार्टीबीच सहमती जुटेको उनको भनाई छ। 

प्रकाशित मिति: १६:२६ बजे, शनिबार, चैत २३, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्