राजधानीमा वायु प्रदूषण संकट : हप्ताको दुई दिन बिदा र यातायातमा जोर–बिजोर लागू गर्न सुझाव
‘वायू प्रदूषण घटाउन सरकारले तुरुन्तै निर्णय गर्नुपर्छ,’ तुलाधरको सुझाव थियो।
काठमाडौं, चैत २१ : वातावरण विज्ञले प्रदूषण कम नहुँदासम्म हप्ताको दुई दिन सार्वजनिक बिदा दिएर जोर–बिजोर गरेर सवारी साधन चलाउन सुझाएका छन्।
कार्यवाहक प्रधानमन्त्री एवम् उपप्रधान एवम सहरी विकासमन्त्री प्रकाशनमान सिंहलाई वातावरण विज्ञले विहीबार उक्त सुझाव दिएका हुन्।
वातावरण प्रदूषण बढिरहेका बेला यसलाई कसरी रोक्ने र असर कम गर्ने भन्ने विषयमा सरोकारवाला र विज्ञसँग बिहीबार सहरी विकास मन्त्रालयमा विज्ञसँग सुझाव लिइएको थियो।
छलफलका क्रममा वातावरण विद् डा.भुषण तुलाधारले वायू प्रदूषण बढाउने काम यातायात, धुवाँधुलो, सिमानाबाट आएका प्रदूषित हावाले पनि गरिहेको बताउँदै तत्कालै यातायातमा जोर–बिजोर, हप्तामा दुई दिन बिदा दिने निर्णय गर्न सुझाएका थिए।
उनले आईक्यूएयरको मात्रा ३०० सम्म पुगेको बताउँदै यो अवस्था एकदमै खतरनाक रहेको बताए।
‘वायू प्रदूषण घटाउन सरकारले तुरुन्तै निर्णय गर्नुपर्छ,’ तुलाधरको सुझाव थियो।
अन्य विज्ञहरुले पनि तत्काल विकल्प खोज्न सुझाएका थिए । विज्ञका सुझाव सुनेपछि कार्यवाहक प्रधानमन्त्री एवम् उपप्रधान मन्त्री प्रकाशनमान सिंहले सरकारले छलफल गेरर एउटा निश्कर्षमा पुग्ने बताएका थिए ।
यता, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपत्यकामा वायु प्रदूषण बढेसँगै उच्च सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ।
साथै, मन्त्रालयले सार्वजनिक यातायातको कम प्रयोग, फोहरको उचित व्यवस्थापन, निर्माण कार्यमा धुलो रोकथाम गर्ने उपाय अवलम्बन गर्न तथा वन डढेलो नियन्त्रण गर्न स्वास्थ्य मन्त्रालयले सम्बन्धित निकायलाई अनुरोध गरेको छ।
साथै, विपद् न्यूनीकरण प्राधिकरणले पनि आमनागरिकलाई व्यक्तिगत सावधानी अपनाउन, मास्कको प्रयोग गर्न र स्वास्थ्य सुरक्षाका उपायहरू अवलम्बन गर्न आग्रह गरेको छ।