श्रम मन्त्रीलाई भेटे स्वास्थ्य व्यवसायीहरूले, मन्त्रालयको निर्णयको स्वागत
दुई महिनाभित्र आवश्यक स्वास्थ्य पूर्वाधार जडान गरिसक्ने प्रतिबद्धता
सूचीकृत स्वास्थ्य व्यवसायीहरुले वैदेशिक रोजगारमा जाने श्रमिकको गुणस्तरीय स्वास्थ्य परीक्षण सुनिश्चित गर्न आवश्यक उपकरणहरु थप गरी शुल्क समायोजन गर्ने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको निर्णयलाई स्वागत गरेको छ।
नेपाल स्वास्थ्य व्यवसायी महासंघ, नेपाल मेडिकल व्यवसायी संघ र गाम्का नेपालको संयुक्त बैठकले श्रम मन्त्रालयको निर्णयलाई स्वागत गरेको हो। उनीहरुले बुधवार श्रम मन्त्री शरतसिंह भण्डारीलाई संयुक्त पत्र बुझाउँदै दुई महिनाभित्र आवश्यक स्वास्थ्य पूर्वाधार जडान गरिसक्ने प्रतिबद्धता जनाएका छन्।
श्रम मन्त्रालयले वैदेशिक रोजगारमा जाने श्रमिकको स्वास्थ्यजन्य जोखिम र दुर्घटना न्यूनीकरण गरी स्वास्थ्य परीक्षणलाई थप व्यवस्थित, मर्यादित र गुणस्तरीय बनाउन नयाँ मापदण्ड लागू गरी डिजिटलाइजेशनमा जाने निर्णय गरेको थियो।
जसअनुसार ३४ प्रकारका परीक्षण गर्नुपर्ने, आवश्यक पूर्वाधार जडान गर्नुपर्ने र अनुगमन पश्चात डिजिटललाईजेशन प्रणालीमा लैजाने निर्णय भएको छ। सूचीकृत स्वास्थ्य संस्थाहरुले थाइराइड, मृगौला र सृगरस“ग विशेष परीक्षण (एचबिएसी) सहित ३४ प्रकारका परीक्षण गर्न सरकारी दररेट अनुसार ९ हजार ५ सय रुपैया“ शुल्क निर्धारण गरिएको छ।
‘श्रम मन्त्रालयबाट वैदेशिक रोजगारमा जाने श्रमिकको स्वास्थ्य परीक्षणलाई थप गुणस्तरीय र मर्यादित बनाउन आवश्यक पूर्वाधार र उपकरणहरु थप गर्ने तथा समायोजन गरिएको शुल्क कायम गर्दै स्वास्थ्य संस्थालाई गुणस्तरीय बनाउन मन्त्रालयले गरेको कार्यलाई स्वागत गर्दछौं,’संयुक्त पत्रमा भनिएको छ।
पत्रमा श्रम मन्त्रालयको स्वास्थ्य विषेशज्ञ समितिलाई सहयोग गर्न नेपाल स्वास्थ्य व्यवसायी महासंघका धनवहादुर गिरीको संयोजकत्वमा पाँच सदस्यीय उपसमिति बनाइएको छ। जसमा सहसंयोजक नेपाल मेडिकल व्यवसायी संघका कृष्णप्रसाद बजगाई, सदस्यहरु क्रमशः गाम्का नेपालका मोहन चौलागाई, नेपाल मेडिकल व्यवसायी संघका पंकजकुमार झा, नेपाल स्वास्थ्य व्यवसायी महासंघका रामपुकार तिवारी र सल्लाहकार डा. पर्शुराम घिमिरे रहेका छन्।
यो उपसमितिले ‘वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्था सूचीकरण, नविकरण तथा अनुगमन सम्बन्धि कार्यविधि, २०७२ को छैटौ संशोधन २०८१ आई पूर्ण रुपमा कार्यन्वयन गर्न सबै स्वास्थ्य संस्थाहरु प्रविधि मैत्री डिजिटलाइजेशन बनाई गुणस्तरीय स्वास्थ्य सेवाको लागि थप गरिएका स्वास्थ्य परीक्षणका लागि आवश्यक उपकरणको व्यवस्था गर्न सहजीकरण गर्न सहयोग गर्ने जनाएको छ।
‘मन्त्रालयले तोकेको समय सिमा भित्र मापदण्ड पूरा गरि सबै स्वास्थ्य संस्थालाई अनुगमन पश्चात पास भएका संस्थाहरुमा डिजिटलाइजेसन प्रणाली लागु गर्दै लैजाने र स्वास्थ्य संस्था अनुगमनका लागि मन्त्रालयले बनाउने अनुगमन समितिमा व्यवसायीहरूको प्रतिनिधित्व समेत रहने व्यवस्था गर्न हार्दिक अनुरोध गर्दछौ,’ श्रममन्त्री समक्ष बुझाइएको पत्रमा उल्लेख छ।