स्थगित भएको माओवादीको जागरण अभियान पुनः सुरू, बारा पुगे प्रचण्ड
नेकपा (माओवादी केन्द्र)को स्थगित भएको तराई-मधेस जागरण अभियान पुनः सुरू भएको छ।
काठमाडौं, चैत ६ : नेकपा (माओवादी केन्द्र)को स्थगित भएको तराई-मधेस जागरण अभियान पुनः सुरू भएको छ।
जागरण अभियान फागुन १२ गते झापाको कचनकवलबाट सुरू भएको थियो फागुन २५ गते बारा पुगेको अभियान स्थगित गरी माओवादी केन्द्रका पदाधिकारीहरू काठमाडौं फर्किएको थियो।
अभियान बिहीबारदेखि पुनः सुरू हुने माओवादी केन्द्रले जनाएको छ।
अभियानका लागि अध्यक्ष प्रचण्डसहित माओवादीका पदाधिकारीहरू बारा पुगिसकेका छन्।
बुधबार अपराह्न बारा पुगेका प्रचण्डलाई त्यहाँ भव्य स्वागत गरिएको थियो।
बुधबार नै बाराको सिमरामा आयोजित सभालाई प्रचण्डले सम्बोधन गरे।
उनले भोलिदेखि तीन दिनसम्म जागरण अभियान जारी रहने र त्यसपछि केही दिनका लागि स्थगित हुने बताए।
माओवादीले चैत १५ गते काठमाडौंमा विरोध सभाको आयोजना गरेको छ। त्यसका लागि चितवनसम्म पुगेपछि जागरण अभियान स्थगित गरी काठमाडौं फर्केर विरोध सभाको तयारी गर्ने प्रचण्डले बताएका छन्।















