कांग्रेस प्रमुख सचेतक घिमिरेद्वारा क्षमायाचना
उनले चैत ३ गते आफूले बोलेको ती अभिव्यक्ति कांग्रेस र संसदीय दलको आधिकारिक नभएर आफ्नो व्यक्तिगत धारणा भएको बताए।
काठमाडौं, चैत ६ : कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले प्रतिनिधिसभामा क्षमायाचना गरेका छन्।
केही दिनअघि संसदमै आफूले दिएको यौन व्यवसाय खुला गरी पर्यटन प्रबर्धन गर्नुपर्ने भनी दिएको अभिव्यक्तिलाई लिएर घिमिरेले बुधबारको बैठकमा माफी मागेका हुन्।
ससंसदमा उनको अभिव्यक्तिको चर्को विरोध भएपछि घिमिरेले बुधबारको बैठकमा माफी मागेका हुन्। उनले चैत ३ गते आफूले बोलेको ती अभिव्यक्ति कांग्रेस र संसदीय दलको आधिकारिक नभएर आफ्नो व्यक्तिगत धारणा भएको बताए।
‘चैत ३ गते विशेष समयमा व्यक्त गरेको धारणा सांसदको हैसियतले विशेष सन्दर्भमा राखेको व्यक्तिगत धारणा हुन्। यो धारणा नेपाली कांग्रेस र संसदीय दलको आधिकारीक धारणा पनि होइन,’ घिमिरेले भने, ‘यी विचारहरूले सम्मानित संसद्का सदस्यहरू र अन्य जनसमुदायमा समेत केहि नकरात्मक प्रभाव परेको भए म उहाँहरूको सम्मान गर्दै उहाँहरूसँग क्षमायाचना गर्न चाहन्छु धन्यवाद।’
प्रतिनिधिसभाको बैठबमा विशेष समय लिएर बोलेका घिमिरेले देशमा रोजगारी सिर्जना र आर्थिक विकासका लागि यौन व्यवसायलाई खुला गर्नुपर्ने प्रस्ताव राखेका थिए। धार्मिक पर्यटकले पैसा खर्च नगर्ने र त्यसले देशको अर्थतन्त्रमा टेवा नदिने भएकाले अब यौन व्यवसायलाई खुला गर्न ढिलो गर्न नहुने उनको भनाइ थियो।












