पर्यटनमन्त्री पाण्डे र कम्बोडियाली समकक्षीबीच भेटवार्ता
कम्बोडियाका पर्यटन र संस्कृति तथा धार्मिक मन्त्रालयमा भएको भेटवार्तामा नेपाल र कम्बोडियाबीच संस्कृति र पर्यटनका क्षेत्रमा समन्वय र सहयोगको सम्भावनाबारे छलफल भएको थियो।-1742362231.jpeg)
काठमाडौं, चैत ६ : कम्बोडिया भ्रमणमा रहनु भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल र कम्बोडियाबीच वृहत्तर बुद्ध सर्किटको निर्माणमा साझेदारीको सम्भावनाबारे छलफल गरेका छन्।
मन्त्री पाण्डेले कम्बोडियाका पर्यटनमन्त्री हुअट हाक र संस्कृति तथा धार्मिक मामिला मन्त्री चाई बोरिनसँग मंगलबार भएको भेटका क्रममा सो सम्भावना बारे छलफल भएको हो।
कम्बोडियाका पर्यटन र संस्कृति तथा धार्मिक मन्त्रालयमा भएको भेटवार्तामा नेपाल र कम्बोडियाबीच संस्कृति र पर्यटनका क्षेत्रमा समन्वय र सहयोगको सम्भावनाबारे छलफल भएको थियो।
भेटवार्ताका क्रममा मन्त्री पाण्डेले नेपाल र कम्बोडियाको ऐतिहासिक सन्दर्भ र द्विपक्षीय पर्यटन सहयोगको महत्त्वलाई उल्लेख गरे।
‘कम्बोडिया र नेपालका इतिहास र धर्म एक अर्कासँग गहिरो सम्बन्ध राख्दछन् । हाम्रो मुलुकहरू दशकोंसम्म युद्ध र संघर्षको अवस्थाबाट गुज्रिएका छन्, र अहिले हामी शान्ति, स्थायित्व र समृद्धिको बाटोमा अघि बढिरहेका छौं ।नेपालका प्रमुख धार्मिक स्थलहरू जस्तै लुम्बिनी, मुक्तिनाथ र जानकी मन्दिर तथा कम्बोडियाको अङ्कुरवाट दुई देशका साझा सम्पदा र तीर्थस्थलको रूपमा रहेको उल्लेख गर्दै मन्त्री पाण्डेले भन्नुभयो, हाम्रो धार्मिक र सांस्कृतिक परिप्रेक्ष्यले समानता देखाउँछ, र हामीसँग एक समान धार्मिक सहिष्णुता र सद्भाव छ,’ मन्त्री पाण्डेले भने।
दुवै पक्षले धार्मिक र सांस्कृतिक पर्यटन साझेदारी वृद्धि गर्ने विषयमा छलफल भएको छ। नेपाल र कम्बोडियाबीच सिधा हवाई उडानको सुरुवात हुन सकेको अवस्थामा पर्यटकहरूको आवागमनमा ठूलो सुधार गर्न सकिने विषयमा दुबै पक्ष सहमत भएका छन्।
पर्यटन क्षेत्रको पुनर्निर्माण र समृद्धिका लागि युएन टुरिजमको बृहत्तर छाता अन्तर्गत सहकार्यका लागि कम्बोडिया इच्छुक रहेको जनाइएको छ। कम्बोडियाले धार्मिक र सांस्कृतिक सहयोगका लागि नेपालसँग अझ नजिकको सहकार्यमा प्रवेश गर्ने प्रतिवद्धता जनाएको छ।












