युक्रेनी सेनाको कब्जामा रहेका ७ नेपालीलाई मुक्त गर्न परराष्ट्रमन्त्री राणाकाे आग्रह
भेटका क्रममा नेपाल युक्रेन सम्बन्ध र आपसी हितका विविध विषयहरुमा कुराकानी भएको मन्त्री राणाको सचिवालयले जनाएको छ।
काठमाडौं, चैत ५ : परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र युक्रेनका विदेशमन्त्री एन्द्री सिबिहाबीच नयाँ दिल्लीमा द्विपक्षीय भेटवार्ता भएको छ।
भारतीय विदेश मन्त्रालयद्वारा नयाँ दिल्लीमा आयोजित राइसिना डायलग कार्यक्रममा राणा र सिबिहाबीच भेटवार्ता भएको हो। भेटका क्रममा नेपाल युक्रेन सम्बन्ध र आपसी हितका विविध विषयहरुमा कुराकानी भएको मन्त्री राणाको सचिवालयले जनाएको छ।
भेटकाक्रममा डा.राणाले युक्रेनी सैनिकको नियन्त्रणमा रहेका सात नेपाली नागरिकको रिहाइका लागि सिबिहामार्फत युक्रेन सरकारसँग आग्रह गरेको जनाइएको छ।
मन्त्री डा. राणाले नेपाली नागरिक रसियाली सेनामा भर्ना हुन पाउने कुनै नीति नेपालको नरहेपनि मानव तस्करहरु मार्फत नेपालीहरुलाई लगेर रुसी सेनामा भर्ना गरिएको कुरा पछि थाहा भएको बताउँदै रुसी सेनामा कार्यरत रहेका नेपाली युद्धबन्दीका रुपमा युक्रेनी सेनाको कब्जामा रहेकाले उनीहरुको रिहाइको माग गरेकी थिइन्।
नेपालको दुर्गम क्षेत्रबाट जबर्जस्ती लगेर रुसी सेनामा भर्ना गरिएको सूचना नेपाल सरकारले पाएको भनाई मन्त्री राणाको थियो। उनीहरुको मुक्तिका लागि युक्रेनी विदेशमन्त्री सिबिहासँग राणाले आग्रह गरिन्।
भेटका क्रममा युक्रेनी विदेशमन्त्री सिबिहाले कानुनी प्रक्रिया पूरा गरेर उनीहरुलाई रिहा गरिने प्रतिबद्धता व्यक्त गरेको जनाइएको छ।
यस्तै, मन्त्री डा.राणाले सन् २०२७ देखि २०२९ का लागि नेपालले संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषदको सदस्य लगायतमा उम्मेदवारी दिएकाले युक्रेन सरकारसँग सहयोगका लागि आग्रह गरिन्।
साथै, भेटका क्रममा दुई देशकाबीचमा सरकारी एवं डिप्लोम्याटिक पासपोर्ट बाहकलाई निःशुल्क भिसासम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर समेत भएको सचिवालयले जनाएको छ ।












