सहकारी विधेयकमा संसदीय समितिको सिफारिस आत्मसात गरिएन: सूर्य थापा
उक्त प्रतिवेदनले सिफारिस गरेको विषय समावेश नभएको बताउँदै थापाले सरकारले अहिले ल्याएको विधेयकमा ६ वटा संशोधन गर्न आग्रह गरेका छन्।
काठमाडौं, चैत ४ : सत्तारूढ नेकपा (एमाले)का सांसद सूर्य थापाले सहकारी सम्बन्धी विधेयकमा संसदीय विशेष छानबिन समितिले गरेको सिफारिसलाई आत्मसात नगरेको बताएका छन्।
सोमबार प्रतिनिधि सभामा सहकारीसम्बन्धी विधेयकको दफाबार छलफलमा थापाले समितिको प्रतिवेदनले मुद्दा मामिलामा रहेका, जेलमा, थुनमा, कैदमा रहेका व्यक्तिहरूलाई यहि स्थितिमा राखेर बचत कर्ताको बचत फिर्ता हुँदैन भनेर स्पष्ट लेखिएको भएपनि विधेयकमा त्यसलाई आत्मसात नगरिएको बताएका हुन्।
'संसदीय समितिले गरेको सिफारिसलाई जायज रूपमा आत्मसात नगरिएको हो कि भन्ने अनुभूति गरेको छ,' उनले भने।
थापा सरकारले यसअघि बनाएको सहकारी सम्बन्धी संसदीय छानबिन समितिको संयोजक थिए। उनकै संयोजकत्वमा बनेको समितिले सहकारी सम्बन्धी समस्याहरू केलाएर त्यसको समाधानका उपायहरूको सिफारिससहित झन्डै ४ सय पृष्ठको प्रतिवेदन तयार पारेको थियो।
उक्त प्रतिवेदनले सिफारिस गरेको विषय समावेश नभएको बताउँदै थापाले सरकारले अहिले ल्याएको विधेयकमा ६ वटा संशोधन गर्न आग्रह गरेका छन्।
उनले दफा १५ को 'क' पछि थपिने गरी ६ वटा प्रस्तावहरू अघि सारेका छन्। ती प्रस्तावहरु कारबाही स्थगन गरी बचत फिर्ता गर्ने विषयहरूमा समेटिएको छ।