जनकपुरधाममा शनिबार होली, १७ स्थानमा ट्राफिक चेकिङ, ५ सय प्रहरी तैनाथ रहने
जिल्ला प्रहरी कार्यालय धनुषा र जिल्ला प्रहरी कार्यालय धनुषाले होलीमा कुनै उत्श्रृङखल गतिविधी नहुन दिन विशेष सुरक्षा योजना लागु गरेको छ।
जनकपुर, चैत १ : तराइ मधेशमा आज होली मनाइँदैछ तर जनकपुरधाममा भने भोली मात्र होली मनाइने छ।
जनकपुरलगायत मिथिलाञ्चल क्षेत्रमा माध्यमिकी परिक्रमा सम्पन्न भएको भोली पल्ट मात्र होली खेल्ने परम्परा रहेकोले, जनकपुरधाममा भोली होली मनाइन्छ।
जनकपुरधामको होली देशैभरमा प्रख्यात रहेको छ। खासगरी जनकपुरधाममा हुने मट्काफोर र हिलो खेल्ने परम्पराले जनकपुरधामको होलीलाइ अन्य भेग भन्दा आकर्षक बनाएको हुन्छ।
जिल्ला प्रहरी कार्यालय धनुषा र जिल्ला प्रहरी कार्यालय धनुषाले होलीमा कुनै उत्श्रृङखल गतिविधी नहुन दिन विशेष सुरक्षा योजना लागु गरेको छ।
कुनै पनि अप्रिय घटना नघटोस् भन्ने उद्देश्यले धनुषा प्रहरीले ५ सय प्रहरीको टोली तैनाथ गर्दै व्यापक सुरक्षा व्यवस्था मिलाएको छ। प्रहरी उपरिक्षक भुवनेश्वर तिवारीका अनुसार जनपथ, सशस्त्र, राष्ट्रिय अनुसन्धान र प्रदेश प्रहरी कार्यालयबाट थप प्रहरी टोलीको सहयोगमा यो सुरक्षा योजना बनाइएको हो।
उनले भने, ‘हामी होलीको हर्षोल्लासलाइ रोक्न चाहँदैनौं। तर, हामीले सम्भावित अप्रिय घटनालाइ रोक्नका लागि यो सुरक्षा योजना बनाएका हौं।’
सुरक्षा योजना अन्तर्गत धनुषा जिल्लाका प्रमुख स्थानहरूमा विशेष निगरानी राखिनेछ। सर्वसाधारणको भीड हुने स्थानहरू, परिक्रमा स्थलहरू, नाका, पार्किङ एरियाहरू र होली सेलिब्रेशन हुने स्थलहरूमा कडा सुरक्षा व्यवस्था मिलाइएको छ।
त्यस्तै, जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी निरीक्षक हरिबहादुर वलीको नेतृत्वमा होली पर्वलाइ सुरक्षित र सभ्य बनाउने उद्देश्यले विभिन्न सुरक्षा उपायका साथै निर्देशन जारी गरिएको छ।
होलीको दिन कुनै पनि सवारी साधन नियम उल्लङ्घन गरेमा उनीहरूलाइ कडा कारबाही गरिनुका साथै कारबाहीमा परेका सवारी साधनलाइ भोलिपल्ट मात्र छाडिने जनाइएको छ।
धनुषा जिल्लामा होली पर्वको समयमा ६० जना ट्राफिक प्रहरी प्रमुख चोक र मार्गहरूमा कडा निगरानी गर्नेछन्। १७ स्थानमा चेकिङ्ग हुनेछ भने ५ स्थानमा मादक पदार्थ सेवन जाँच (मापसे) गरिने निरीक्षक वलीले जानकारी दिएका छन्।