५० लाख डलर तिरे विदेशीले अमेरिकाको नागरिकता पाउने
राष्ट्रपति ट्रम्पले अमेरिकाले धनी विदेशीहरूलाई ‘गोल्ड कार्ड’ बेच्ने घोषणा गरेका हुन् । यस्तो कार्डले अमेरिकामा बस्न र काम गर्न चाहने विदेशीहरूलाई अधिकार प्रदान गर्नेछ ।
काठमाडौं, फागुन १४ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा बस्न चाहने धनी विदेशीहरूको लागि नयाँ अफरको घोषणा गरेका छन् ।
राष्ट्रपति ट्रम्पले अमेरिकाले धनी विदेशीहरूलाई ‘गोल्ड कार्ड’ बेच्ने घोषणा गरेका हुन् । यस्तो कार्डले अमेरिकामा बस्न र काम गर्न चाहने विदेशीहरूलाई अधिकार प्रदान गर्नेछ । ‘गोल्ड कार्ड’ ५० लाख अमेरिकी डलर तिरे प्राप्त गर्न सकिने छ । यस्तो कार्ड पाएपछि अमेरिकी नागरिक बन्ने प्रक्रिया अघि बढ्ने राष्ट्रपति ट्रम्पले बताएका छन् ।
राष्ट्रपति ट्रम्पले ओभल अफिसबाट घोषणा गर्दै भने, ‘हामी एउटा गोल्ड कार्ड बेच्न गइरहेका छौँ । तपाईंसँग ग्रीन कार्ड छ । यो एउटा गोल्ड कार्ड हो । हामी त्यो कार्डको मूल्य लगभग ५० लाख डलर राख्दैछौँ । त्यसले तपाईंलाई ग्रीन कार्डको विशेषाधिकार दिनेछ । यो नागरिकता प्राप्त गर्ने बाटो पनि हुनेछ । यो कार्ड किनेर धनी मानिसहरू हाम्रो देशमा आउनेछन् ।’
ट्रम्पले घोषणा गरे अनुसार गोल्ड कार्डको बिक्री लगभग दुई हप्तामा सुरु हुने बताएका छन् । ट्रम्पले यस्ता लाखौँ कार्डहरू बेच्न सकिने समेत जनाए । ट्रम्पसँगै रहेका वाणिज्यमन्त्री हावर्ड लुटनिकले गोल्ड कार्डले सरकारको ईबी–५ आप्रवासी लगानीकर्ता भिसा कार्यक्रमलाई प्रतिस्थापन गर्ने भनाई राखे ।
उनले गोल्ड कार्डले विदेशी लगानीकर्ताहरूलाई अमेरिकी परियोजनाहरूमा लगानी गरी रोजगारी सृजना गर्न र अमेरिकामा आप्रवासन गर्न अनुमति दिने बताए ।