कांग्रेसका सबै नेता कार्यकर्ताले सरकारलाई सफल बनाउनुपर्छ : नेता कोइराला
‘यो सरकारलाई सफल बनाएरै छाड्नुपर्ने आवश्यकता छ। यो सरकार बन्दाखेरी उहाँहरुले केही सम्झौता गर्नुभएको थियो। संविधान सुधारका कुरा, आर्थिक अवस्थालाई सुधार गर्ने कुरा, सुशासन कायम गर्ने यो तीनवटा कुरा हामीले गर्नैपर्नेछ,’ नेता कोइरालाले भने।
बाँके, फागुन ११ : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेसका सबै नेता कार्यकर्ताले वर्तमान गठवन्धन सरकारलाई सफल बनाउनुपर्ने बताएका छन्।
नेपाली कांग्रेस बाँकेले आइतबार पार्टी कार्यालयमा आयोजना गरेको कार्यकर्ता भेटघाटलाई सम्बोधन गर्दै नेता कोइरालाले उक्त भनाई राखेका हुन्। उनले मुलुक अत्यन्तै अप्ठ्यारो परिस्थितिबाट गुज्रिरहेकाले वर्तमान सरकारलाई असफल हुने छुट नरहेको पनि बताए।
‘यो सरकारलाई सफल बनाएरै छाड्नुपर्ने आवश्यकता छ। यो सरकार बन्दाखेरी उहाँहरुले केही सम्झौता गर्नुभएको थियो। संविधान सुधारका कुरा, आर्थिक अवस्थालाई सुधार गर्ने कुरा, सुशासन कायम गर्ने यो तीनवटा कुरा हामीले गर्नैपर्नेछ,’ नेता कोइरालाले भने।
उनले काँग्रेस र एमालेको सरकार कुनै पनि हालतमा औचित्यहीन सावित हुन नदिने पनि बताए। कांग्रेस कार्यकर्ताले सरकारले छिटो काम गर्ला भनेर सोचे पनि त्यस्तो हुन नसकेको, तर सरकारलाई जनताको काम तीव्र रुपमा गर्न सहयोग गर्नुपर्ने खाँचो रहेको पनि बताए।
नेपालगञ्ज आएका नेता कोइरालाले आइतबारै नेपाली कांग्रेस राप्ती सोनारीको सम्मेलन उद्घाटनलाई संवोधन गर्ने छन्।