प्रधानमन्त्री ओली फेरि पनि संसद विघटन गर्ने प्रयासमा छन् : प्रवक्ता सापकोटा
जनताको मुख बन्द गर्ने षड्यन्त्रको रुपमा सामाजिक सञ्जाल विधेयक ल्याएको पनि आरोप लगाए। सरकारले सामाजिक सञ्जालको नियमन नभएर पूर्ण रुपमा नियन्त्रण गर्न खोजेको उनको भनाई छ।-(61)-1740298202.jpg)
काठमाडौं, फागुन ११ : नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाले प्रधानमन्त्री केपी ओलीले फेरि पनि संसद विघटन गर्ने जमर्को गरिरहेको आरोप लगाएका छन्।
आइतबार प्रेस सेन्टर नेपाल उपत्यका प्रदेश समितिको दास्रो अधिवेशनलाई सम्बोधन गर्दै पहिला आफू सभामुख भएको बेला पनि ओलीले झम्टीझम्टी दुई पटक संसद विघटन गरेको भन्दै फेरि पनि त्यही बाटोमा उद्धत भएको बताएका हुन्।
‘अझै पनि ठूला ठूला घट्ना घटाउन सक्छन्। म आफैँ सभामुख भएको बेला दुई पटक सदन विघटन गर्न खोजिएको थियो र आज पनि त्यतैतिर उद्दत छ सरकार र अहिलेका प्रधानमन्त्री,’ उनले भने, ‘फेरि पनि विघटन गरेर चुनावमा गएँभने बहुमत ल्याउछु भन्ने छ। बहुमत हजार कोष टाढाको कुरा हो। वास्तवमा यो संसद विघटन गर्नतिर नै उनी उद्यत छन्।
उनले अहिलेको सरकार शासक बन्न खोज्दा जनताको घेराबन्दीमा पर्ने पनि बताए। जनताको मुख बन्द गर्ने षड्यन्त्रको रुपमा सामाजिक सञ्जाल विधेयक ल्याएको पनि आरोप लगाए। सरकारले सामाजिक सञ्जालको नियमन नभएर पूर्ण रुपमा नियन्त्रण गर्न खोजेको उनको भनाई छ।
‘जब जब शासकहरु जनताको घेराबन्दीमा पर्छन् जनताले प्रश्न उठाउन थाल्छन्। पत्रकारले प्रश्न सोध्न थाल्छन्। उनीहरुले जनताको मुख बन्द गर्ने षड्यन्त्र गर्छन्। र यो नियमन होइन, पूरा नियन्त्रण हो,’ उनले भने, ‘हामीले रगत बगाएर प्राप्त गरेको अभिव्यक्ति स्वतन्त्रताको कुरा हो। यसलाई नियन्त्रण गर्न खोजिएको छ।’
प्रवक्ता सापकोटाले सरकारले.अहिले अध्यादेशबाट शासन चलाउने जमर्को गरेको भन्दै त्यो असफल भएको बताए। सरकार आफैं उम्कन नसक्नेगरी पूर्ण रुपमा अध्यादेशको पासोमा परेको पनि उनले बताए।












