राजेन्द्र लिङ्देन भन्छन्– तीन ठूला दुकै कारण देश ओरालो लाग्यो
‘अहिले देश विशिष्ट अवस्थामा छ। देश हाम्रो आँखाले देखेको जस्तो सामान्य अवस्थामा छैन। अर्थतन्त्र, शान्ति सुरक्षा, रोजगारीका हिसाबले, अन्तर्राष्ट्रिय रुपमा मानसम्मानका दृष्टिकोणले देश ओरालो लागेको अवस्था छ।’-1740222418.jpg)
काठमाडौं, फागुन १० : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले अहिले देशको अवस्था आँखाले देखेको जस्तो सामान्य नरहेको बताएका छन्।
राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन ललितपुर जिल्ला अधिवेशनमा बोल्दै उनले अर्थतन्त्र, शान्ति सुरक्षा, रोजगारीका साथै अन्तर्राष्ट्रय रुपमा मानसम्मानका दृष्टिकोणले देश ओरालो लागेको बताए।
‘अहिले देश विशिष्ट अवस्थामा छ। देश हाम्रो आँखाले देखेको जस्तो सामान्य अवस्थामा छैन। अर्थतन्त्र, शान्ति सुरक्षा, रोजगारीका हिसाबले, अन्तर्राष्ट्रिय रुपमा मानसम्मानका दृष्टिकोणले देश ओरालो लागेको अवस्था छ,’ उनले भने, ‘यसलाई निरन्तर रुपमा पालिराख्ने हो भने युवाले जुन बेला देशको नेतृत्व गर्ने मौका आउँछ त्यसबेला देश रहन्छ की रहँदैन भन्ने अवस्थामा छ।’
अध्यक्ष लिङ्देनले अहिले देशको अवस्था आउनमा कांग्रेस, एमाले र माओवादी जिम्मेवार रहेको बताए । उनले देश बिग्रियो भने शेरबहादुर देउवा, केपी ओली र पुष्पकमल दाहालको केही नबिग्रने, तर युवाहरुको भविष्य बिग्रिने चिन्ता व्यक्त गरे।
‘यो देश बिग्रियो भने शेरबहादुर देउवा, केपी ओली र पुष्पकमल दाहालको केही बिगँ्रदैन। युवाहरुको भविष्य बिग्रिने छ। देशको भविष्यसँग सबैभन्दा धेरै सरोकार र सम्बन्ध युवाहरुको छ। यसकारण युवाहरुले निर्माण गर्नुपर्ने र निर्वाह गर्नुपर्ने भूमिका महत्वपूर्ण छ,’ उलने भने, ‘अहिले देशको यो अवस्था आउनमा कांग्रेस, एमाले र माओवादी जिम्मेवार छन्।’












