गरिबको पैसा डुबाउने सहकारी कारवाहीको दायरामा आउँछन् : मन्त्री श्रेष्ठ
मन्त्री श्रेष्ठले वागमती प्रदेशभित्र ३२०० सहकारीमध्ये करिब ३०० संस्थाले सहकारी विधि, मुल्य र मान्यता विपरित काम गरेकाले त्यसको छानविन भइरहेको पनि बताए।
काठमाडौं, फागुन १० : बागमती प्रदेशका सहकारी तथा गरिबी निवारण मन्त्री मधुकुमार श्रेष्ठले सहकारीका नाममा गरिबको पैसा अपचलन गर्ने र अनुउत्पादक क्षेत्रमा लगानी गरेर रकम डुबाउनेहरुलाई कारवाही गरेरै छाड्ने बताएका छन्।
राष्ट्रिय दलित पत्रकार संघ नेपाल, उपत्यका प्रदेश कमिटीको प्रथम अधिवेशनलाई उद्घाटन गर्दै मन्त्री श्रेष्ठले सरकारले सहकारीहरुले गरिब जनताको पैसा डुबाएको उजुरीहरु धेरै आइरहेकाले पैसा फिर्ता गराउने र सुरक्षित गर्न आफू कटिबद्ध भएर लागिरहेको पनि बताए।
‘यतिबेला प्रदेश सरकारले गरिब जनतालाई आवास कार्यक्रम अगाडि सारेको छ। यसमा दलित र गरिबलाई समावेश गराएको छ। वास्तविक गरिबहरुको पहिचान गर्न सरकारले काम गरिरहेको छ,’ मन्त्री श्रेष्ठले भने, ‘जति समय मन्त्री भएर काम गर्छु यो समयमा सहकारी भित्रको वेथिति अन्त्य गर्छु। गरिबको पैसा जसरी फिर्ता हुन्छ।’
मन्त्री श्रेष्ठले वागमती प्रदेशभित्र ३२०० सहकारीमध्ये करिब ३०० संस्थाले सहकारी विधि, मुल्य र मान्यता विपरित काम गरेकाले त्यसको छानविन भइरहेको पनि बताए।
केही दिनमै एकसय दिनको कार्यक्रम ल्याउन लागेका मन्त्री श्रेष्ठले प्रदेश बलियो बनाउन चालु खर्च घटाउन आवश्यक रहेको औंल्याए। उनले गरिब जनतालाई स्वास्थ्य र शिक्षा निशुल्क गराएर रोजगारी प्रदान गर्नुपर्ने पनि बताए।