Kathmandu Press

केआइआइटीबाट फर्किएका नेपाली विद्यार्थी भन्छन्- कहालीलाग्दो क्षण भुल्नै सक्दैनौँ

विद्यार्थी झाले कलेज प्रशासनले नेपाली विद्यार्थीलाई बसमार्फत कुर्दह, पुरी भुवनेश्वरलगायत फरक–फरक रेल्वे स्टेशनमा छाडेको दाबी गरे।
केआइआइटीबाट फर्किएका नेपाली विद्यार्थी भन्छन्- कहालीलाग्दो क्षण भुल्नै सक्दैनौँ

वीरगन्ज, फागुन ९ :  भारतको उडिसा राज्यस्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल ट्रेक्नोलोजी (केआइआइटी)मा ‘विटेक इन कम्प्युटर साइन्स एण्ड इन्जिनियरिङ’को छैटौं सेमेष्टरमा अध्ययनरत विद्यार्थी निशान्तकुमार झाले नेपाली विद्यार्थीमाथि भएको दुव्र्यवहार अझै पनि भुल्न नसकेको बताए।

केआइआइटीमा अध्ययरत नेपाली विद्यार्थी प्रकृति लम्सालले फ्रेबुअरी १६ तारिख (फागुन ४ गते ) आफू बस्ने होस्टलको कोठामा आत्महत्या गरेसँगै उत्पन्न भएको असहज परिस्थितिले नेपाली विद्यार्थीको मनोविज्ञान नराम्रोसँग प्रभावित भएको उनले उल्लेख गरे।  

'प्रकृतिको घटना हुनुअगावै सोही दिन त्यहाँ भारतीय र्यापर बादशाहको साङ्गीतिक कार्यक्रम तय भइसकेको थियो । त्यसैले नेपाली विद्यार्थीहरू पनि सो कार्यक्रमप्रति निकै उत्साहित थियौँ,' धनुषाको विदेही नगरपालिका–३ स्थायी घर भई त्यहाँ अध्ययरत विद्यार्थी झाले भने, 'नेपाली विद्यार्थीले प्रकृतिको घटनामा कुनै कमीकमजोरी नहोस् भनेर कलेज प्रशासनलाई अनुरोध गर्‍यौं। तर, कलेज प्रशासन सुनुवाइ नगरेपछि घटनाको प्रमाण नष्ट नहोस् भनेर दबाब दिने योजनासहित शान्तपूर्वक रूपमा आन्दोलन पनि गर्‍यौ।'

Hardik ivf

विद्यार्थीको प्रदर्शन चर्केपछि फ्रेबुअरी १७ तारिखमा केआइआइटीका रजिष्ट्रारले नेपाली विद्यार्थीलाई अर्का सूचना जारी नभएसम्मका लागि तत्काल छात्राबास छाड्नका लागि निर्देशन दिएका थिए । झाले कलेज प्रशासनले एकएर्फी ढङ्गले नेपाली विद्यार्थीले छात्राबास छाड्नुपर्ने सूचना जारी गरेपछि नेपाली विद्यार्थीको मनोबल खस्किएको स्मरण गरे।  

'नेपाली विद्यार्थीलाई ‘बाउन्सर’ लगाएर अपमानजनक ढङ्गले निकाल्ने प्रयास गरियो । सो घटनाले हाम्रो मन साह्रै कुडिएको छ,' उनले भने, 'हाम्रै कतिपय साथीभाइ कुटपिटको कारणले घाइतेसमेत बन्नुभयो।'

विद्यार्थी झाले कलेज प्रशासनले नेपाली विद्यार्थीलाई बसमार्फत कुर्दह, पुरी भुवनेश्वरलगायत फरक–फरक रेल्वे स्टेशनमा छाडेको दाबी गरे।

'अधिकांश नेपाली विद्यार्थीसँग नेपाल फर्किनका लागि आवश्यक पैसासमेत थिएन,' उनले भने, 'म आफै पनि दाइको साथीसँग पैसा सापटी मागेर नेपाल फिर्ता आएको हुँ।'

केआइआइटीमा छैटौं सेमेष्टरमा फेसन डिजाइन अध्ययनरत एक नेपाली छात्राले घटना हुने दिन मृतक लम्सालले आफूसँग जुत्ता मागेको पनि स्मरण गरिन्।

'प्रकृति र म फरक–फरक विषय लिएर अध्ययन गर्ने भए पनि बेलाबखतमा भेटघाट भइरहन्थ्यो । घटना हुने दिन पनि प्रकृतिले मलाई जुत्ता दिनका लागि अनुरोध गरेकी थिइन्। मैले सहजै भइहाल्छ नि भन्ने जवाफ फर्काएकी थिएँ,' वीरगञ्ज स्थायी घर भएकी नाम खुलाउन नचाहने ती छात्राले भनिन्, 'घटना भएकै दिन प्रकृतिसँग मेरो कुराकानी भएको थियो । उनले आधा घण्टाभित्रै जुत्ता लिन आउने बताएर आफ्नो होस्टेलतर्फ लागेकी थिइन् । तर, कहिल्यै नआउने गरी अस्ताएकी छन्।'

ती छात्राले प्रकृतिले कुन कारणले आत्महत्या गर्ने परिस्थितिमा पुगिन् भन्ने विषयमा स्वतन्त्र ढङ्गले खोज तथा अनुसन्धान गर्न आवश्यक रहेको बताइन्।

'प्रकृतिको मृत्युपछिको असहज परिस्थितिले नेपाली विद्यार्थीलाई नेपाल फर्किन पनि निकै कष्टकर भएको थियो,' उनले भनिन्, 'कलेज प्रशासनले एक्कासी छात्राबास छाडेर जाउँ भन्दा राज्य नभएको महसुस गर्‍यौं।'

केआइआइटीमा बिबिए दोस्रो सेमेष्टरमा अध्ययनरत नेपाली विद्यार्थी साहिरकुमार कलवार पनि कलेज प्रशासनले एक्कासी छात्राबास खाली गर्नुपर्ने सूचना दिएपछि समस्याका बीचमा वीरगञ्ज फर्किएको दुखेसो पोखिन्।

'म त्यहाँ अध्ययन गर्न गएको सात महिना पनि भएको छैन । भर्खंरै दोस्रो सेमेष्टरमा अध्ययन गर्दै थिएँ,' उनले भनिन्, 'एक्कासी होस्टेल छाड भनेपछि समस्या आइपर्‍यो। कहाँ जाउँ के खाउँ भन्ने चिन्ताले सतायो। साथीभाइसँग पैसा सरसापट गरेर कैयौँपटक रेल र बस परिवर्तन गरेर बल्लबल्ल फ्रेबुअरी १९ तारिखको बेलुकीपख वीरगञ्ज घरमा आइपुगेको हुँ।'

कलवारले निकै सास्ती खेप्दै वीरगञ्ज फर्किएको बताए।

'यति धेरै दुःख झेलेर आइयो । त्यो कहालीलाग्दो क्षण भुल्न पनि सकेका छैनौँ,' उनले भने, 'हामीले यस्तो भोगे पनि हामीजस्तै अन्य कुनै पनि नेपाली विद्यार्थीले यस्तो समस्या भोग्नु नपरोस्।'

केआइआइटीबाट फ्रेबुअरी १८ मा घर फर्किनुभएका बाराका अमन कुशवाहले कलेज प्रशासनले नेपाली विद्यार्थीलाई स्वदेश फर्कन पनि पर्याप्त समय नदिएको गुनासो गरिन्। 'नेपाली विद्यार्थी निकै झन्झट व्यहोरेर स्वदेश फर्किएका छौँ,' उनले भनिन्, 'हामीले भुवानेश्वरबाट बस रिर्जभ गरेर वीरगञ्ज फर्किएका हौं।'

केआइआइटीमा अध्ययरत गर्दै आइरहेका विद्यार्थी वीरगञ्जमा फर्किएपछि आज बिहान वीरगञ्जको घण्टाघरचोकमा प्रदर्शनी गरेका छन्।

 मृतक प्रकृति लम्सालको न्याय र त्यहाँ अध्ययनरत विद्यार्थीले सहज वातावरणमा अध्ययन गर्न पाउने वातावरण सृजना गर्नका लागि विद्यार्थीले नेपाल सरकारसँग माग गरेका छन्।

केआइआइटीमा अध्ययनरत नेपाली विद्यार्थीले आज प्रकृतिलाई मर्न बाध्य पार्ने युवकलाई कारबाही हुनुपर्ने माग राखेका छन्।

स्वदेश फर्किएका नेपाली विद्यार्थीले केआइआइटीमा कार्यरत रहेर नेपालको बजेटसँग सम्बन्धित छुद्र टिप्पणी गर्ने दुई महिला कर्मचारीलाई आजीवन कलेजबाट निष्काशन गर्नुपर्ने, नेपाली विद्यार्थीमाथि कुटपिट गर्नेलाई आवश्यक कानुनी दायरामा ल्याउनुपर्ने माग गरेका छन्।

केआइआइटीमा तेस्रो वर्षमा अध्ययनरत विद्यार्र्थी कुशवाहले नेपाल सरकारले कलेज प्रशासनसँग समन्वय गरेर नेपाली विद्यार्थीलाई कुनै किसिमको दुव्र्यवहार नहुने सुनिश्चिता गरेको खण्डमा फेरि फर्कन सकिने बताइन्।

'सरकारले विद्यार्थीको सुरक्षा र भविष्यमा कुनै अप्ठेरो नपर्ने सुनिश्चित गरेको खण्डमा त्यहाँ फर्किएर आफ्नो अध्ययनलाई अघि बढाउन चाहन्छौं,' उनले भने।

जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी सुमनकुमार कार्कीले बिहीबार बेलुकासम्म १५९ विद्यार्थी रक्सौल नाका हुँदै स्वदेश फर्किएका जानकारी दिए।

'जिल्ला प्रशासन कार्यालयले फर्किएका विद्यार्थीलाई आवश्यक सहजीकरण गर्दै आइरहेको छ,' उनले भने।

सहायक प्रजिअ कार्कीका अनुसार फर्किएकामध्ये १२७ छात्र र ३२ जना छात्रा रहेका छन् । केआइआइटीमा करिब एक हजार पाँच सयभन्दा बढी नेपाली विद्यार्थी अध्ययन गर्दै आएका जनाइएको छ।

प्रकाशित मिति: २०:१० बजे, शुक्रबार, फागुन ९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्