जलहरीमा विशेष अदालतको फैसला उल्ट्याउन माग गर्दै अख्तियार सर्वोच्चमा
अख्तियारले विशेष अदालतको फैसला उल्ट्याएर सबै आरोपितहरुलाई जेल सजाय र जरिवानाको माग गरेको छ।
काठमाडौं, फागुन ९ : पशुपतिको जलहरीमा भएको भ्रष्टाचार प्रकरणमा आरोपितहरुलाई सफाई दिनेगरी विशेष अदालतबाट भएको फैसलामा चित्त नबुझेपछि अख्तियार सर्वोच्च पुगेको छ ।
अख्तियारले पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा.प्रदीप ढकाल र तत्कालिन कोषाध्यक्ष डा.मिलनकुमार थापालाई सफाइ दिने विशेष अदालतको फैसलामाथि कानुनी प्रश्न उठाउँदै सर्वोच्चमा पुनरावेदन गरेको हो।
अख्तियारले विशेष अदालतको फैसला उल्ट्याएर सबै आरोपितहरुलाई जेल सजाय र जरिवानाको माग गरेको छ।
जलहरीमा डेढ किलो सुन तलमाथि पारिएको भन्दै परेको एक उजुरीमा अनुसन्धानपछि कोषका तत्कालीन कोषाध्यक्ष डा.थापा, सदस्य सचिव ढकाल र स्टोरकिपर अरुण कुमार श्रेष्ठविरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
जलहरी प्रकरणमा बजारभाउ अनुसार एक करोड १७ लाख रुपैयाँ हिनामिना भएको दाबी अख्तियारले गरेको छ।
अख्तियारले खरिद भएको सुन, निर्माणमा प्रयोग भएको सुन र बाँकी सुनको पारदर्शी हिसाब नराखी गोलमाल गरेको प्रश्न उठाएको छ।












