Kathmandu Press

अभिव्यक्ति स्वतन्त्रता मिच्ने कुनै काम सरकारबाट हुँदैनः प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरु बोल्न नपाउने अवस्थाविरुद्ध लडेर आएकाले अभिव्यक्ति स्वतन्त्रताको अधिकार मिच्ने काम सरकारबाट नहुने स्पष्ट गरेका छन्।
अभिव्यक्ति स्वतन्त्रता मिच्ने कुनै काम सरकारबाट हुँदैनः प्रधानमन्त्री
फाइल तस्वीर।

काठमाडौं, फागुन ९ : प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरु बोल्न नपाउने अवस्थाविरुद्ध लडेर आएकाले अभिव्यक्ति स्वतन्त्रताको अधिकार मिच्ने काम सरकारबाट नहुने स्पष्ट गरेका छन्।

 ईश्वरलाल प्रतिष्ठानद्वारा प्रकाशित व्यवसायी तथा समाजसेवी राजेशकाजी श्रेष्ठको जीवनीमा आधारित ‘व्यक्तित्व योगदान’ पुस्तकको आज लोकार्पण गर्दै प्रधानमन्त्री ओलीले हिजोसँगै रहेर मस्यौदा गरेका केही साथीहरुले अभिव्यक्ति स्वतन्त्रता हनन हुन लाग्यो भनेर सामाजिक सञ्जाल विधेयकविरुद्ध चर्का कुरा गरेर हल्ला गरेको टिप्पणी गरे।

Hardik ivf

'हिजो टिकटकमा प्रतिबन्धै लगाएका हुन् । त्यो हामीले खोलायौँ । अहिले तिनै मान्छे बोल्न पाउनुपर्छ भनेर अभिव्यक्ति स्वतन्त्रताको हिमायती बनेका छन्,' प्रधानमन्त्री ओलीले भने, 'स्वतन्त्रताका नाममा देशविरुद्ध लाग्ने, शान्ति सुरक्षा खल्बल्याउने र सामाजिक सद्भाव भड्काउने काम स्वीकार्य हुन सक्दैन । चिन्दै नचिनेको ठाउँमा गएर शान्ति भड्काउने र जथाभावी बोल्ने काम गर्नु हुँदैन । आफ्नो अधिकार प्रयोग गर्दा अरूको अधिकार प्रयोगमा असर पार्ने काम कसैले गर्नु हुँदैन।'

प्रधानमन्त्री ओलीले स्विट्जरल्यान्डको बैङ्कमा पैसा राख्यो भन्ने जस्ता प्रश्न गरेर भ्रम फैलाइएको सन्दर्भमा प्रतिप्रश्न गर्दै भने, 'मलाई किन त्यत्रो सम्पत्ति चाहियो ? दुईवटा रोटी र अलिकति दाल खाने हो । मैले सम्पत्ति लुकाउनुपर्ने केही कारण छैन । मेरो सबै जीवन खुल्ला र पारदर्शी छ । यस्ता अनेक हल्ला चलाउने,  भ्रम फिजाउने तथा दुर्वाच्य बोल्ने हाम्रो सभ्यता र संस्कार होइन ।'

उनले सुशासनबाट मात्रै देशलाई समृद्धितर्फ लान सकिने भएको र सुशासन एउटा गम्भीर चुनौतीका रुपमा रहेकाले छिटोछरितोरुपमा कानुन बनाउने र काम अगाडि बढाउने प्रक्रियामा वर्तमान सरकार रहेको स्पष्ट गरे।

प्रधानमन्त्री ओलीले नेपाल चेम्बर अफ कमर्सको संस्थागत विकासमा उल्लेखनीय योगदान दिएका अगुवा व्यवसायी श्रेष्ठको जीवनीमा आधारित ‘व्यक्तित्व योगदान’ पुस्तक नयाँ पुस्ताका लागि प्रेरणादायी हुने विश्वास व्यक्त गरे।

प्रकाशित मिति: १७:४० बजे, शुक्रबार, फागुन ९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्