महानगर प्रहरी भन्छ– कवाडी व्यवसाय हटाउन अब डोजर चलाइन्छ
शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महानगर प्रहरी प्रमुख राजु पाण्डेले कवाडी व्यवसायले बस्तीमा जोखिम पैदा भएको स्थानीयकै गुनासो भएको भन्दै सम्झाएर नमानेमा डोजर चलाएर कवाडी व्यवसाय हटाउने बताए।-(6)-1739544588.jpg)
काठमाडौं, फागुन २ : काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्र कवाडी व्यवसाय हटाउन डोजर अभियान सुरु गर्ने बताएको छ।
शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महानगर प्रहरी प्रमुख राजु पाण्डेले कवाडी व्यवसायले बस्तीमा जोखिम पैदा भएको स्थानीयकै गुनासो भएको भन्दै सम्झाएर नमानेमा डोजर चलाएर कवाडी व्यवसाय हटाउने बताए।
‘स्थानीय तहको प्रहरीले सरकारको आदेश र निर्णय नै कार्यान्वयन गर्ने हो। त्यो कुरालाई नबुझेर त्यसमा हुने जेखिमका कुराहरु छन्। अब आउने चैत्र बैशाखको हावाहुरीले विभिन्न टहराहरु भत्किएर उडाएर बस्तीमा जोखिम हुने अवस्था छ,’ उनले भने, ‘त्यो सम्पूर्ण रुपमा हटाउनलाई सम्झाएर नमाने निर्मम तरिकाले डोजर लगाउने काम सुरु गर्छौं। उहाँहरुलाई खुला ठाउँमा लगेर सार्न अनुरोध गर्दछौं। मान्नु भएन भने योजनावद्ध रुपमा कवाडी हटाउने अभियानमा लाग्नेछौं।’
उनले महानगरपालिका भित्र जोखिम हुनेगरी विभिन्न किसिमका अस्थायी मापदण्डविपरीतका टहराहरु निर्माण गरी कवाडी व्यवसाय गरिहेको र विगतदेखि नै सम्झाउँदा पनि उल्टै प्रहरीमाथि आक्रमण हुने गरेको बताए।
व्यवसायीले हात हतियार, सिसाका बोतल लिएर महानगर प्रहरीमाथि आक्रमण गरेको तर सत्यलाई बङ्ग्याएर विभिन्न किसिमको टिकाटिप्पणी भएकोमा दुःख व्यक्त समेत गरे।
‘काठमाडौं महानगरपालिका भित्रको आवसीय क्षेत्रमा जोखिम हुनेगरी विभिन्न किसिमका अस्थायी मापदण्डविपरीतका टहराहरु निर्माणगरी कवाडी व्यवसाय सञ्चालन गरिराखेको अवस्था थियो । हामीले सम्झाउँदा पनि नमानेको कारण र विगत एक वर्षदेखि काम गर्दा पनि अटेरी गरेको र हटाउन जाँदा पनि विभिन्न हात हतियार, सिसाका बोतल लिएर महानगर प्रहरीमाथि आक्रमण गर्ने र जुन सत्य हो त्यसलाई बङ्ग्याएर विभिन्न किसिमको टिकाटिप्पणी भएको छ,’ उनले भने, ‘स्थानीय जनताको पीर मर्काको आधारमा हटाउन लागेको हो। तर विभिन्न फोरममा जुन भ्रम सृजना भएको छ, त्यसप्रति महानगर प्रहरी दुःख व्यक्त गर्दछ।’
नगरपालिकाभित्र फोहोरमैला गर्नेलाई कारबाहीको दायरामा ल्याउने पनि उनले जानकारी दिए।