उमागौरी सहकारीका अध्यक्ष रौनियार कारागार चलान
जिल्ला अदालत मोरङले उमागौरी कृषि सहकारी संस्थाका अध्यक्ष शम्भुप्रसाद रौनियारलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको छ।
विराटनगर, माघ २० : जिल्ला अदालत मोरङले उमागौरी कृषि सहकारी संस्थाका अध्यक्ष शम्भुप्रसाद रौनियारलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको छ।
आइतबार बयान र थुनछेक बहस सकिएपछि सहकारी ठगी मुद्दामा न्यायाधीश अरुणकुमार झाको इजलासले पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको हो । आदेशलगत्तै रौनियारलाई कारागार चलान गरिएको छ । अभियोगपत्रमा उनलाई उमागौरी सहकारी ठगी प्रकरणका मुख्य आरोपी देखाइएको छ ।
उक्त सहकारीको ठगी मुद्दामा संघीय संसदको सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी पत्नी अन्जला कोइराला पनि अभियुक्त छन्।
धनपालथान गाउँपालिका–४ कर्सिया बजारमा रहेको उक्त सहकारीबाट २२ करोड ४८ लाख २७ हजार ७ सय रुपैयाँ अपचलन भएको प्रहरी दाबी छ।
रौनियार र पोखरेलसहित २६ जनालाई प्रतिबादी बनाएर मुद्दा दर्ता भएको छ । सहकारीका अध्यक्ष रौनियार अघिल्लो साता कानुन व्यवसायीलाई साथमा लिएर आफै मोरङ जिल्ला अदालतमा हाजिर भएका थिए ।
सहकारी रकम अपचलन प्रकरणमा २६ जना विरुद्ध मोरङ अदालतमा मुद्दा दायर भएकोमा २१ जना अझै फरार छन् । रौनियारसँगै दुईजना प्रतिबादीलाई पुर्पक्षको लागि थुनामा गएका हुन्।
अर्का सहकारी सञ्चालक रोशन राजवंशीलाई पनि यसअघि पुर्पक्षको लागि थुनामा पठाइएको थियो । अर्का अभियुक्त कोइराला र सन्तलाल खवासलाई भने धरौटीमा छाडिएको छ । उनीहरुविरुद्ध गत मंसिर २७ गते जिल्ला अदालतमा अभियोगपत्र दायर भएको थियो ।












