'संविधान जारी भएको दश वर्ष भैसकेकाले समीक्षा गर्ने समय आएको छ'

काठमाडौं, माघ १८ः नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा संवोधन गर्दै संविधान प्रारम्भ भएको दश वर्ष भइसकेकाले संवैधानिक अभ्यासको समीक्षा गर्ने समय आएको बताएका छन्।
देउवाले संविधान संशोधन गर्दा संविधानका आधारभूत विशेषता कमजोर हुन नहुने भनाईसमेत राखेका छन्। सभापति देउवाले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था र समावेशिता लगायत संविधानका आधारभूत विशेषता कमजोर हुन नहुने प्रष्ट पारेका हुन्।
संसदमा देउवाले भने, ‘संविधान संशोधनको कुरा गर्दा हामी केही विषयमा स्पष्ट हुन आवश्यक छ, संविधान संशोधन गर्दा बहुलवादमा आधारित बहुदलीय प्रतिस्पर्धासहितको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था र समावेशितालगायतका संविधानका आधारभूत विशेषता कमजोर हुनुहुँदैन। संविधान कार्यान्वयनमा देखापरेका सबल र दुर्बल पक्षको अध्ययन र पहिचान गरी आवश्यकताअनुसार संविधान संशोधनको परिमार्जन गर्नुपर्दछ।’
दलहरूका बीचमा संवाद र सहमतिका आधारमा सहकार्य गर्दै संविधान संशोधन गर्नुपर्नेमा उनले जोड दिए।












