अध्यादेश अस्वीकार गर्ने विपक्षी दलहरूको अडान कायमै
संसदमा प्रतिनिधित्व गर्ने विपक्षी दलहरूको बैठकले भोली (शुक्रबार) बाट आह्वान भएको संसदको हिउँदे अधिवेशनमा सरकारले ल्याएको अध्यादेशको अस्वीकार गर्ने अडान कायम नै राखेका छन्।
काठमाडौं, माघ १७ः संसदमा प्रतिनिधित्व गर्ने विपक्षी दलहरूको बैठकले भोली (शुक्रबार) बाट आह्वान भएको संसदको हिउँदे अधिवेशनमा सरकारले ल्याएको अध्यादेशको अस्वीकार गर्ने अडान कायम नै राखेका छन्।
बिहीबार सिंहदरबारमा बसेको बैठकमा अध्यादेश प्रक्रियागत हिसाबले पनि गलत भएको कारण सबै विपक्षी दलहरुले यसलाई अस्वीकार गर्ने सर्वसम्मत निर्णय गरेको माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए।
उनले भने,‘भोलीदेखि सुरु हुने संघीय संसदका अधिवेशन व्यवस्थित रुपमा जनताका सरोकारहरुलाई उठाउने कुरामा एक मत भएको छ। खास गरेर अध्यादेशका बारे सरकारले जसरी सदनमा ल्याएर सबै कानुन व्यस्थित बनाएर अगाडि बढाउनुको सट्टा सरकारले सदन बोलाउने बेलामा नै आएर जसरी अध्यादेश ल्याएको छ। त्यो प्रकृयाको हिसाबले पनि गलत छ। त्यसैले सबै विपक्ष दलहरुले यसको अस्वीकार चाँही गर्नुपर्छ भन्ने सर्वसहमत निर्णय भएको छ।’
बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एसका अध्यक्ष माधव कुमार नेपाल, राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डिपी अर्याल सहभागी थिए। यस्तै, वेदुराम भुसाल, महेन्द्रराय यादव, नारायणकाजी श्रेष्ठ, देव गुरुङ, स्वर्णिम वाग्ले र सन्तोष परियार लगायतका नेताहरु सहभागिता रहेको थियो।