पुलिसलाई हराउँदै एपिएफले जित्यो एन्फा महिला लिगको उपाधि
नेपाल पुलिस क्लबलाई पराजित गर्दै नेपाल एपिएफ क्लबले एन्फा महिला लिग फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।![पुलिसलाई हराउँदै एपिएफले जित्यो एन्फा महिला लिगको उपाधि](https://kathmandupress.com/uploads/posts/anfa-1738155386.jpg)
काठमाडौं, माघ १६ : नेपाल पुलिस क्लबलाई पराजित गर्दै नेपाल एपिएफ क्लबले एन्फा महिला लिग फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको फाइनल खेलमा सविता राना मगरको २ गोलमा एपिएफले पुलिसलाई ४–० गोलअन्तरले पराजित गरेको हो ।
एपिएफको जितमा सवितासँगै सरु लिम्बू र अनु लामाले समान एक एक गोल गरे । खेलको ६४औँ मिनेटमा अनिता केसीले दिएको बलमा सविता राना मगरले गोल गरिन् ।
खेलको ६९औँ मिनेटमा एपिएफकी अर्की खेलाडी सरु लिम्बूले गोल गर्दै टिमको अग्रता दोब्बर बनाइन् ।
खेलको ८३औँ मिनेटमा प्रिति राईको पासमा सविताले अर्को गोल गरिन् । त्यसपछि खेलको दोस्रो हाफको अतिरिक्त समयमा अनु लामाले गोल गर्दै टोलीलाई ४–० को जित दिलाइन् ।
उपाधिसँगै एपिएफले रु १० लाख तथा उपविजेता पुलिसले ५ लाख प्राप्त गरेको छ ।
प्रकाशित मिति: १८:४१ बजे, बुधबार, माघ १६, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार