एमालेलाई कमजोर बनाउन सबै प्रतिक्रियावादी शक्तिहरु लागि परेका छन् : ईश्वर पोखरेल
नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमालेलाई कमजोर बनाउन खोज्नेहरुले पार नपाउने बताएका छन्।
काठमाडौं, माघ १६ : नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमालेलाई कमजोर बनाउन खोज्नेहरुले पार नपाउने बताएका छन्।
बुधबार पार्टी कार्यालय च्यासलमा आयोजित शहीदहरुको सम्झनामा स्रष्टाहरूको आवाज तथा पुस्तक विमोचन कार्यक्रममा उनले देशी विदेशी प्रतिक्रियावादी शक्तिहरु एमालेलाई कमजोर बनाउनको लागि सबै सम्भव पक्षलाई परिचालित गरि रहेको भन्दै यो असम्भव रहेको बताए ।
उनले भने, ‘ एमालेलाई कमजोर बनाइयो भने मात्र आफ्ना अभिष्टहरु पूरा हुन सक्छन् भन्ने देशी विदेशी प्रतिक्रियावादी शक्तिहरु यसमा केन्द्रित भएर लागेका छन् । एमालेलाई कमजोर बनाउनको लागि सबै सम्भव पक्षलाई परिचालित गरिएको छ । एमालेलाई कमजोर बनाउन खोज्नेहरुले पार पाउने छैनन् । यो सम्भव हुने छैन,' उनले भने।
यसका साथै उनले गौरवशाली इतिहास र भविष्यको मार्गचित्र नै नभएको पार्टीहरु बाहिर आएको भन्दै यस्ता पार्टीहरुको जुन नाटक मञ्चन भइरहेको छ त्यसको कुनै अर्थ नभएको बताए ।
उनले समाज, पार्टी, आन्दोलन सबै ठाँउमा जो सक्रिय हुन्छ त्यसले नै अगुवाई गर्ने हैसियत राख्ने भन्दै सक्रिय हुन नसक्नेहरु र नचाहनेहरु कहिले पनि अगुवाई गर्न नसक्ने बताए ।












