अखिल क्रान्तिकारीको मतगणना अन्तिम चरणमा, महासचिव र कोषाध्यक्ष जनार्दन पक्षले जित्यो
निर्वाचनमा चार वटा प्यानलबाट उम्मेदवारी परेको थियो![अखिल क्रान्तिकारीको मतगणना अन्तिम चरणमा, महासचिव र कोषाध्यक्ष जनार्दन पक्षले जित्यो](https://kathmandupress.com/uploads/posts/roshan-and-khushi-1738152746.jpg)
काठमाडौं, माघ १६ : नेकपा (माओवादी केन्द्र)को विद्यार्थी संगठन अखिल क्रान्तिकारीको मतगणना अन्तिम चरणमा पुगेको छ।
चार दिनसम्म गणना सुरू हुन नसकेको उपत्यका र विश्वविद्याल प्रदेशको मतगणना मंगलबार रातिदेखि माओवादीको केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरू भएको थियो।
बुधबार साँझसम्म मतगणना अन्तिम चरणमा पुगेको हो।
अहिलेसम्म सचिवालय सदस्यसहित केन्द्रीय सचिव, उपमहासचिव र महासचिवको नतिजा आइसकेको छ।
निर्वाचनमा चार वटा प्यानल बनेका थिए।
एक एक जना निर्वाचित हुने महासचिव र कोषाध्यक्षमा हेमन्त राई प्यानलका उम्मेदवार विजयी भएका छन्।
सुदिन राई माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा निकटका हुन्।
उनको प्यानलबाट महासचिवमा रोशन थापामगर निर्वाचित भएका छन्। थापाले ६०१ मत प्राप्त गरे। उनका निकटतम प्रतिद्वन्द्वी सञ्जिवकुमार महतोले ४०५ मत पाए। महतो विजय सापकोटा प्यानलका उम्मेदवार हुन्। सापकोटा केन्द्रीय उपमहासचिव शक्ति बस्नेत निकटका हुन्।
कोषाध्यक्षमा हेमन्त राई प्यानलकै फूलमाया रानामगर 'खुसी' निर्वाचित भएकी छन्।
अध्यक्षमा हेमन्त राईभन्दा सापकोटा अगाडि छन्। सात प्रदेशको गणना सम्पन्न हुँदा उनीहरूबीच १५/२० को मतान्तर थियो।
एकाध घन्टामा अध्यक्षको पनि मतगणना सम्पन्न हुने निर्वाचन समितिले जनाएको छ।