Kathmandu Press

‘कोरम’ नपुगेपछि पूर्वाधार समितिको बैठक स्थगित

प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठक कोरम नपुगेपछि स्थगित भएको छ।
‘कोरम’ नपुगेपछि पूर्वाधार समितिको बैठक स्थगित

काठमाडौं, माघ १६ : प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठक कोरम नपुगेपछि स्थगित भएको छ।

२५ सदस्यीय समितिमा निर्धारित समयभन्दा डेढ घण्टा बढी समयमा पनि बैठक सञ्चालनका लागि आवश्यक न्यूनतम सङ्ख्या नपुगेपछि बैठक स्थगित भएको हो।

बिहान साढे ११ बजे बोलाइएको बैठकमा १० सदस्यको मात्र उपस्थिति रह्यो। संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुले आफ्ना सदस्यहरुको संसदीय समितिमा हुने उपस्थिति र खेल्ने भूमिकाका आधारमा मूल्याङ्कन हुने बताइरहेका बेला कोरम नपुगेर बैठक स्थगित हुन पुगेको छ ।

सरकारका प्रतिनिधिको अनुपस्थिति भएमा बैठक नचलाइने अभ्यासअनुसार बैठकमा आमन्त्रण गरिएका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र राज्यमन्त्री पूर्णबहादुर तामाङ भने समितिमा उपस्थित थिए।

उपयुक्त समयमा अर्को बैठक बस्ने समितिका सभापति दीपकबहादुर सिंहले जानकारी दिए।

समितिमा २५ सदस्य छन्। बैठक सञ्चालनका लागि न्यूनतम १३ जना उपस्थित हुनुपर्छ।

आजको बैठकमा ऊर्जा मन्त्रालयसँग सम्बन्धित समितिमा परेका उजुरीका सम्बन्धमा छलफल गर्ने कार्यसूची थियो।

प्रकाशित मिति: १७:२९ बजे, बुधबार, माघ १६, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्