प्रतिनिधिसभाको कार्यव्यवस्था समितिमा प्रमुख सचेतकबीच भनाभन
उनले संसद् र संसदीय समितिमा कसको कति उपस्थिति छ भनेर हाजिरी सार्वजनिक गर्न समेत माग गरे।
काठमाडौं, माघ १५ : प्रतिनिधिसभा अन्तर्गतको कार्यव्यवस्था परामर्श समितिको बैठकमा मंगलबार सत्ता र प्रतिपक्ष दलका प्रमुख सचेतकबीच विवाद भएको छ।
सभामुख देवराज घिमिरेले सत्ता र प्रतिपक्षका प्रमुख सचेतकहरूको बैठक आह्वान गरेका थिए।
सभामुख घिमिरेले माघ १८ गतेदेखि सुरु हुने संसद्को हिउँदे अधिवेशनलाई कसरी व्यवस्थित रूपमा सञ्चालन गर्ने भनेर समझदारी निर्माणका लागि बैठक डाकेका हुन्। सत्ता र प्रतिपक्षका प्रमुख सचेतकहरूको बैठकमा सरकारले हालै ल्याएको अध्यादेशका विषयमा विवाद भएको हो।
बैठकको शुरुमा प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले अध्यादेशका विषयमा प्रश्न उठाए।
पाण्डेले संसद् अधिवेशन सुरु हुने समयमा अध्यादेश किन चाहियो ? भन्दै प्रश्न गरेका थिए। त्यसलगत्तै सत्तासाझेदार दल नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले पाण्डेको प्रतिवाद गरे। उनले संसद्ले कानुन बनाएर समयमा दिन नसकेपछि अध्यादेशको विरोध गर्न नहुने भन्दै प्रतिबाद गरे।
काँग्रेसका प्रमुख सचेतक घिमिरेले प्रतिप्रश्न गर्दै भने, ‘कानुन बनाएर दिन नसक्ने, अनि सरकार चलाउनु पर्दैन ? सरकार चलाउनुपर्यो, कानुन बनाएर दिन नसक्ने हो भने अध्यादेश ल्याउने प्रचलन बढेर जान्छ।’
त्यसपछि पाण्डेले सरकार पक्षले नै अध्यादेशबाट देश चलाउने कुरा गर्ने भन्दै कानुन बनाउन सत्तापक्षकै सांसद बैठकमा नआउने गरेको भन्दै घिमिरेको प्रतिबाद गरे। ‘अनि त्यसको दोष प्रतिपक्षले बोकिदिनुपर्ने हो ?’ पाण्डेले भने।
उनले संसद् र संसदीय समितिमा कसको कति उपस्थिति छ भनेर हाजिरी सार्वजनिक गर्न समेत माग गरे।
घिमिरे र पाण्डेको भनाभन्पछि नेकपा (एकीकृत समाजवादी)का प्रमुख सचेतक मेटमणि चौधरीले कानुन पारित गर्ने आत्मविश्वास गुमाउनुको मतलब सरकार ढल्न लागेको हो ? भन्दै प्रश्न उठाए।
प्रतिपक्षी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदले पनि अध्यादेश ल्याउनु गलत भएको भन्दै विरोध जनाए। सत्तापक्षका सांसदले बैठकमा ले अब संसद्को पहिलो बैठकमै अध्यादेश पेस गरिने भन्दै बाँकी छलफल संसदमै गर्न प्रस्ताव गरेका छन्।












