Kathmandu Press

महाकाली लोकमार्ग चार दिनदेखि अवरुद्ध

सदरमुकाम खलङ्गा जोड्ने एक मात्र महाकाली लोकमार्ग चार दिनदेखि अवरुद्ध भएको छ। सदरमुकाम नजिकै रहेको महाकाली नगरपालिका–५ किम्तडीको ठड्याकाटा भीरमा सडक अवरुद्ध भएको हो।
महाकाली लोकमार्ग चार दिनदेखि अवरुद्ध

दार्चुला, माघ १४ : सदरमुकाम खलङ्गा जोड्ने एक मात्र महाकाली लोकमार्ग चार दिनदेखि अवरुद्ध भएको छ। सदरमुकाम नजिकै रहेको महाकाली नगरपालिका–५ किम्तडीको ठड्याकाटा भीरमा सडक अवरुद्ध भएको हो।

शुक्रबार सडक चौडा बनाउने क्रममा पहिरो खसेको थियो। पहिरोमा परी स्काभेटर चालक रेशम बुढामगर गम्भीर घाइते भएका थिए।

Hardik ivf

उनलाई थप उपचारका लागि हेलिकप्टरमार्फत धनगढी लगिएको थियो। एक मात्रै मुख्य राजमार्ग अवरुद्ध बनेपछि साना तथा ठूला सवारीसाधन दुईतर्फ रोकिएका छन्। धनगढी, महेन्द्रनगर, काठमाडौँबाट आउने बस तथा जीप किम्तडीबाट फर्किरहेका छन्। साथै मालवाहक ट्रक पनि रोकिएका छन्।      

खलङ्गामा रोकिएका बस, जिप बसपार्कमा थन्किएका छन्। एम्बुलेन्स पनि चल्न पाएका छैनन्। वैकल्पिक मार्ग नहुँदा खलङ्गासम्मको आवतजावत ठप्प भएको जनाइएको छ। सो लोकमार्ग अवरुद्ध हुँदा सदरमुकाम खलङ्गा अध्ययन गर्न आउने बालबालिका जोखिममा छन्।

सदरमुकाम नजिकै रहेको सडक अवरुद्ध हुँदा बालबालिकाले जोखिम मोलेर आवतजावत गर्नु परेको अभिभावकको गुनासो छ। महेन्द्र नमूना मावि खलङ्गा र एसियन अकाडमीको स्कुल बस रोकिएका छन्। त्यसका कारण धाप, दत्तु, किम्तडीलगायत ठाउँबाट आउने विद्यार्थी मर्कामा परेका छन्। विद्यार्थीलाई भिरको बाटो हिँडाउँदा निकै जोखिम भएको महेन्द्र नमूना माविका प्रधानाध्यापक दामोदर जोशी बताउँछन्।

यस्तै जिल्ला प्रशासन कार्यालयले सडक खुलाउन सडक डिभिजन बैतडीलाई पत्रचार गरेको छ। आइतबार कार्यालयलाई सडक मर्मत तथा सञ्चालन गर्न पत्रचार गरेको हो।

प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले सडक चौडा गर्ने क्रममा खसेको पहिरोले सदरमुकाम खलङ्गासम्म आवतजावतमा कठिनाइ भई नागरिकको जनजीवन कष्टकर भएको जनाएका छन्।

प्रशासनको पत्रचारपछि निर्माण व्यवसायीले एक–दुई दिनभित्र पैदल बाटो खुलाउने जनाएको छ। सडक पूर्ण रुपमा सञ्चालन हुन भने केही समय अझै लाग्ने जानकारी आएको प्रमुख जिल्ला अधिकारी जोशीले बताए।

प्रकाशित मिति: १७:०९ बजे, सोमबार, माघ १४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्