Kathmandu Press

संसद्को हिउँदे अधिवेशनमा प्रधानमन्त्रीसँगै शीर्ष नेताहरूले सम्बोधन गर्ने

‘संसद्को पहिलो दिनको बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्नुहुनेछ। त्यसपछि विपक्षी दलका नेतासहित सबै राजनीतिक दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने प्रारम्भिक कार्यसूची तय गरिएको छ,’ मुख्य सचेतक बर्तौलाले भने। 
संसद्को हिउँदे अधिवेशनमा प्रधानमन्त्रीसँगै शीर्ष नेताहरूले सम्बोधन गर्ने

काठमाडौं, माघ १४ : माघ १८ गतेदेखि सुरू हुने संघीय संसद्को हिउँदे अधिवेशनको कार्यतालिका तयार गरिएको छ। 

सभामुख देवराज घिमिरेको अध्यक्षतामा आज सिंहदरबारमा बसेको प्रमुख राजनीतिक दलका प्रमुख सचेतक र सचेतसहितको बैठकले माघ महिनाभरका लागि कार्यतालिका तयार गरेको हो।

Hardik ivf

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै एमालेका मुख्य सचेतक महेश बर्तौलाले संसद्को हिउँदे अधिवेशनअन्तर्गत कार्यतालिका बनाइएको बताए। उनका अनुसार संसद्को पहिलो दिन सुरूमा प्रधानमन्त्री एवं दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यतालिका तय भएको छ। सोही दिन सरकारले ल्याएका विभिन्न अध्यादेश संसद पेस हुनेछन्।

‘संसद्को पहिलो दिनको बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्नुहुनेछ। त्यसपछि विपक्षी दलका नेतासहित सबै राजनीतिक दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने प्रारम्भिक कार्यसूची तय गरिएको छ,’ मुख्य सचेतक बर्तौलाले भने। 

माघ महिनाभरको संसद्को बैठकको कार्यतालिका तयार भएको र सोहीअनुसार अगाडि बढ्ने सहमति भएको कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले बताए।

त्यसपछिका बैठकहरूमा संसदमा पेश भएका अध्यादेशहरू निर्णयार्थ प्रस्तुत गरिनेछन्। आजको बैठकले तयार गरेको कार्यतालिका मंगलबार बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठकले अनुमोदन गर्नेछ। 

मुख्य सचेतक बर्तौलाले आगामी अधिवेशनलाई प्रभावकारी बनाउन महत्त्वपूर्ण विधेयक एवं थाती रहेका कानुन पारित गर्नेगरी सत्तारूढ र प्रमुख प्रतिपक्षी दलबीच समझदारी भएको जानकारी दिए। उनले संसद्को प्रभावकारिता बढाउँदै रचनात्मक र क्रियाशील बनाउन लागिपर्ने प्रतिबद्धता व्यक्त गरे।

बैठकमा नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे र राष्ट्रिय स्वतन्त्र पार्टीका सचेतक निशा डाँगी पनि सहभागी थिए। 

प्रकाशित मिति: १६:३२ बजे, सोमबार, माघ १४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्