साक्षीले नै अदालतमा उल्टो बयान दिएपछि अख्तियारले चलायो मुद्दा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस मुद्दामा बयान फेर्ने एक सरकारी साक्षीमाथि नै मुद्दा चलाएको छ।काठमाडौं, माघ ११ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस मुद्दामा बयान फेर्ने एक सरकारी साक्षीमाथि नै मुद्दा चलाएको छ।
बयान फेरेर मुद्दा कमजोर बनाएको आरोप सरकारी साक्षीमाथि लगाइएको छ।
घुस रकमसहित पक्राउ परेकी भरतपुर क्यान्सर अस्पतालकी लेखा अधिकृत अमृता कोइराला लगायत प्रतिवादी रहेकोे भ्रष्टाचार मुद्दामा सरकारी साक्षीको रुपमा पेस गरिएका चितवन, भरतपुर महानगरपालिका वडा नं– २६ का नन्दलाल पौडेलले बयान फेरेको भन्दै कारबाहीका लागि मुद्दा चलाइएको हो।
पौडेललाई सुरूमा अख्तियारको अनुसन्धान अधिकृतलाई सहयोग गरेको भन्दै सजायमा छुट दिई सरकारी साक्षीको रुपमा पेस गरिएकोमा विशेष अदालतमा वकपत्र गर्दा बयान फेरेको पुष्टि भएको भन्दै सजायको माग अदालत समक्ष गरिएको छ।
भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५५ मा अख्तियारको अनुसन्धान अधिकृतलाई सहयोग गर्ने आरोपितलाई सजायमा छुट दिई सरकारी साक्षीको रुपमा पेस गर्न सकिने व्यवस्था छ।
गत साउन ७ गते बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा कार्यरत लेखा अधिकृत कोइराला घुस लिँदालिँदै पक्राउ परेकी थिइन्।
१ लाख ५० हजार रूपैयाँ नगद र ४ लाख ५० हजारको चेकसहित कोइरालालाई नियन्त्रणमा लिइएको थियो।
पौडेलले भरतपुरमा सञ्चालन गरेको एप्लस मेडिकोबाट बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा औषधी सप्लाई गरेवापत भुक्तानी रकम प्राप्त गर्नको लागि कोइरालालाई डेढ लाख नगद र साढे ४ लाख चेक गरी ६ लाख रुपैयाँ घुस दिएको आरोपमा अख्तियारमा उजुरी परेको थियो।
पौडेललाई उक्त घुस मुद्दामा अख्तियारको साक्षीका रुपमा राखिए पनि अदालतमा उल्टो बयान दिएपछि ६ लाख नै बिगो कायम गरी भ्रष्टाचार मुद्दा दायर गरिएको हो।