गल्ती सच्याउँछौं, ०८४ मा बहुमत दिनुहोस् : अध्यक्ष दाहाल
अध्यक्ष दाहालले जनयुद्ध र शान्तिप्रक्रिया साथ दिइएको उल्लेख गर्दै अब भ्रष्टाचारविरुद्ध सामाजिक न्याय र आर्थिक समृद्धिको यो अभियानमा साथ दिन जनतामा आग्रह गरे।
दाङ, माघ ११ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आगामी निर्वाचनमा माओवादी केन्द्रलाई बहुमत दिन अपिल गरेका छन्।
माओवादी केन्द्रले तुलसीपुर नगरकमिटीले तलसीपुमा आयोजना गरेको पार्टीको तेस्रो नगर अधिवेशन उद्घाटन तथा खबरदारी सभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले सो कुरा बताएका हुन्।
‘यो पटक म देशभर अपिल र अनुरोध गर्न म देशव्यापी अभियानमा गएको छु। हामीलाई ०६४ मा मत दिनुभएका जनतालाई अनुरोध छ, आग्रह छ । हामी गल्ती कमजोरी सच्याउँछौं। आफ्नै छोराछोरी त हुन नि भनेर एकचोटी ०६४ मा जस्तै माया गरिदिनुभयो भने, मत दिनुभयो भने ०८४ मा बहुमतमा आउनेछौं। त्यो बहुमतले यो देशबाट भ्रष्टाचारलाई जरैदेखि उखेलेर फाल्ने छ। सामाजिक विभेदको अन्त्य गर्नेछ, न्याय स्थापित गर्नेछ। आर्थिक समृद्धिमा देश अगाडि बढ्नेछ।’
अध्यक्ष दाहालले जनयुद्ध र शान्तिप्रक्रिया साथ दिइएको उल्लेख गर्दै अब भ्रष्टाचारविरुद्ध सामाजिक न्याय र आर्थिक समृद्धिको यो अभियानमा साथ दिन जनतामा आग्रह गरे। उनले अब सुशासन सामाजिक न्याय र आर्थिक समृद्धिको लडाईमा चाहिएको बताए।
तेस्रो पटक सरकारको नेतृत्व गर्ने अवसर प्राप्त हुँदा आफूले यसअघिका कमीकमजोरीलाई सच्याँएर जनताको पक्षमा भ्रष्टाचारविरुद्ध सुशासनको अभियान चालेको स्मरण गर्दै अध्यक्ष दाहालले सोही कारण जनतामा माओवादी पार्टीप्रति सकारात्मक धारणा बन्दै गएको बताए।
‘सरकारबाट बाहिएपछि म जहाँ गएको छु। जनताको अपार माया पाएको छु। माया र विश्वासले खुसी भएको छु, म ७० वर्षको भएँ,’ दाहालले भने, ‘मैले देश र जनताको पक्षमा काम गर्ने संकल्प लिएको छु। जसका कारण अहिले माओवादी केन्द्रमा प्रवेश गर्नेहरुको लहर आएको छ। देशभर विभिन्न पार्टीका नेता कार्यकता पनि प्रवेश गर्ने तयारी गरिरहनुभएको छ।’
माओवादी केन्द्रको हालै सम्पन्न केन्द्रीय समिति बैठक र नेकपा एमालेको बैठकलाई जनताले तुलना गरेर हेर्ने गरेको उनले बताए।












