राप्रपाको केन्द्रीय समितिमा सरकारले गरेका कामबारे समिक्षा गरिँदै
बैठक अगाडि सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष राजेन्द्र लिङ्देनले लामो समयदेखि बस्न नसकेको बैठक आजदेखि प्रारम्भ भएको बताएका हुन्।काठमाडौं, माघ ११ : राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको केन्द्रीय कार्य समितिको बैठक सुरु भएको छ। बैठक अगाडि सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष राजेन्द्र लिङ्देनले लामो समयदेखि बस्न नसकेको बैठक आजदेखि प्रारम्भ भएको बताएका हुन्।
आजको बैठकमा वर्तमान समसामयिक राजनीतिकबारे छलफल हुने बताइएको छ। साथै, पार्टीका आगामी रणनीति, प्रतिपक्षको भूमिका र प्रतिपक्ष दलहरूसँगको सहकार्य लगायतका विषयमा छलफल गरिने अध्यक्ष लिङ्देनले बताए।
उनले ठूला दुई दल मिलेर बनेको सरकारले अहिलेसम्म के–के गरेको छ त्यसको बारेमा समेत समिक्षा गरिने बताए।
‘लामो समयदेखि बस्न नसकेको बैठक आज प्रारम्भ हुँदैछ। यो बीचमा नेपाली कांग्रेस, नेकपा एमालेजस्ता दुई ठूला दल मिलेर सरकार बनेको पनि ६ महिना भन्दा बढी भइसकेको छ, यसको विषयमा पनि समग्र रुपमा समिक्षा गरिनेछ, उनले भने, ‘यो बीचमा जनतामा आशा जागृत हुनुपर्ने हो त्यसको बदला जनतामा घोर निराशा पैदा भएको छ।’
यसैगरी बैठकमा अर्थतन्त्र शिथिल र कमजोर भएकोबारे छलफल गरिनेछ। महँगी चरम रुपमा बढेको छ, यतिबेला निर्माण सामग्रीको मूल्य वृद्धि भएको छ यसको विषयमा पनि बैठकमा छलफल गरिने उनले बताए।
बैठक भोलिसम्म चल्ने छ।