सरकार कुनै औषत काम गरेर दिन बिताउने पक्षमा छैन : अर्थमन्त्री
मन्त्री पौडेलले सरकारले कुनै औषत काम गरेर दिन बिताउने पक्षमा नभएको भन्दै अर्थतन्त्र क्षेत्रका समस्याहरुलाई प्रभावकारी ढङगबाट समाधान गर्ने बताए।काठमाडौं, माघ १० : अर्थमन्त्री विष्णु पौडेलले सरकार कुनै औषत काम गरेर दिन बिताउने पक्षमा नभएको बताएका छन्।
राष्ट्रिय वाणिज्य बैंकको ६०औं वार्षिकोत्सव समारोहमा बोल्दै मन्त्री पौडेलले सरकारले कुनै औषत काम गरेर दिन बिताउने पक्षमा नभएको भन्दै अर्थतन्त्र क्षेत्रका समस्याहरुलाई प्रभावकारी ढङगबाट समाधान गर्ने बताए।
‘राष्ट्रिय वाणिज्य बैंक परिवारलाई मेरो के आग्रह छ भने यो तरलतालाई उत्पादन, उत्पादकत्व बृद्धि र रोजगारी सिर्जनाका निम्ति कसरी सर्भे गर्ने भनेर सोच्नुहोस्। सरकारले कुनै औषत काम गरेर सरकारको सुचि बढाउने काम गर्दैन। दिन बिताउने पक्षमा छैनौं,’ उनले भने, ‘समस्याको निकै लामो चाङ छ। यी समस्याहरूलाई एक–एक गरेर पन्छाउँदै जान चाहन्छौं। छोटो अवधिमा दुरगामी महत्वका उपलब्धिहरु आर्जन गर्न चाहन्छौं।’
अर्थतन्त्रको क्षेत्रका समस्याहरुलाई प्रभावकारी ढंगबाट समाधान गर्न चाहेको बताउँदै उनले सरकार बनेको दिन गनेर नभइ परिणाममुखी काम गरेर अगाडि बढ्ने चाहना सरकारको भएको बताए।
अर्थमन्त्री पौडेलले अध्यादेशको माध्यमबाट निराशालाई आशामा बदल्नका लागि र देश भित्र भविष्य खोज्नेहरुको लागि काम गरेको बताए।
‘२९वटा ऐनहरुमा अध्यादेशको माध्यमबाट संशोधन गरेका छौं। ति अध्यादेशहरू सदन सुरु भएको पहिलो दिन नै प्रस्तुत हुँदैछ। ति अध्यादेशहरु संसदबाट अनुमोदित हुनेछ,’ उनले भने, ‘निराशालाई आशामा बदल्नका लागि, देशभित्र भविश्य खोज्ने, समाजको भविश्य खोज्नेहरुका लागि सरकारले ऐनहरुमा संशोधन गर्ने अध्यादेशहरुमा निर्णय गरेको हो।’