‘सरकारप्रति हाम्रो कुनै अभिरुचि छैन’
‘यो सरकार बन्नेबेलादेखि नै भ्रष्टाचारीलाई बचाउने र बिचौलियालाई पोस्ने काममा लिप्त छ,’ उनले भने, ‘यति हुँदा पनि हामीहरू सरकार ढाल्ने प्रक्रियामा छैनौं।’सुर्खेत, माघ १० : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सरकारमा जाने बारे आफ्नो पार्टीको कुनै रुचि नभएको बताएका छन्।
सुर्खेत विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले नीतिगत रुपमा हेर्दा यो सरकारको आयु लामो नभए पनि आफूहरुले सरकार बदल्न खोजेको भन्ने बुझाइ चाहिँ सही नभएको स्पष्ट पारे।
‘यो सरकार बन्नेबेलादेखि नै भ्रष्टाचारीलाई बचाउने र बिचौलियालाई पोस्ने काममा लिप्त छ,’ उनले भने, ‘यति हुँदा पनि हामीहरू सरकार ढाल्ने प्रक्रियामा छैनौं।’
देशको राजनीति सहज नदेखिएको उल्लेख गर्दै अध्यक्ष दाहालले प्रधानमन्त्रीको क्रियाकलापका कारण एमालेभित्र पनि निकै उकुसमुकुस रहेको बताए।
सरकारले गलत तरिकाले अध्यादेश ल्याएर शासन गर्न खोजिएको भन्दै उनले विरोध जनाए। संसदमा प्रवेश गरिसकेका र समितिमा छलफल भइरहेको विधेयकलाई प्रक्रियागत ढंगले फिर्ता लिनुका सट्टा संवैधानिक तथा लोकतान्त्रिक बिधिलाई मिचेर मन्त्रीपरिषद्बाट नमिल्ने काम गरीे दुससाहस भएको भन्दै अध्यक्ष दाहालले विरोध गरे।
सरकारले संसद अधिवेशन आह्वान गर्नुको सट्टा अध्यादेशमा बल गरेपछि विपक्षी दलहरुले विशेष अधिवेशनको माग गर्ने तयारी गरेपछि सरकारले बाध्य भएर संसद आह्वान गरेको बताए।
अब विपक्षी दलहरुले संसदमा जनताका एजेन्डा प्रभावकारीरुपमा र आवश्यक कानुन निर्माणमा जोड दिने उनले बताए।