Kathmandu Press

रूपन्देही अदालतले रवि लामिछानेलाई छाड्यो श्रीमती र वकिलको जिम्मामा

'इजलासले लामिछाने आफै उपस्थित हुन्छु भनेपछि उहाँलाई विश्वास गरेको हो'
रूपन्देही अदालतले रवि लामिछानेलाई छाड्यो श्रीमती र वकिलको जिम्मामा
फाइल तस्बिर।

काठमाडौं, माघ ९ : सुप्रिम सहकारी ठगी मुद्दामा बयान सकिएपछि जिल्ला अदालत रूपन्देहीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई परिवारको जिम्मा लगाएको छ।

बुधबार लामिछाने अदालतमा हाजिर भएपछि न्यायाधीश प्रह्लादकुमार योगीको इजलासमा बयान सुरू भएको थियो।

सुप्रिम सहकारीको बचत अपचलन मुद्दामा बयान सकिएपछि न्यायाधीश योगीले उनलाई परिवार र वकिलको जिम्मामा छाड्न आदेश गरेको रूपन्देही अदालतका तहसिलदार कुमार खतिवडाले जानकारी दिए।

Hardik ivf

बयान सकिएपछि लामिछानेले न्यायाधीसँग परिवारको जिम्मामा छाड्न अनुरोध गरेका थिए।

'उहाँले आज पनि आफै उपस्थित भएको हुँ। भोलि पनि उपस्थित हुनेछु। भागेर कहीँ जाँदिन भनेर अनुरोध गर्नुभयो। इजलासबाट उहाँको अनुरोध स्वीकार भयो,' तहसिलदार खतिवडाले काठमाडौं प्रेससँग भने।

यसअघि काठमाडौं जिल्ला अदालतले स्वर्णलक्ष्मी सहकारीको बचत अपचलन मुद्दामा पहिलो दिन थुनछेक बहस नसकिएपछि लामिछानेलाई हिरासतमा पठाएको थियो।

त्यतिबेला काठमाडौं अदालतले हेर्दाहेर्दैमा रहेको मुद्दामा हिरासत नै पठाउने नजीर रहेको आधारमा लामिछानेलाई प्रहरीको जिम्मा लगाएको थियो।

रूपन्देही अदालतले भने लामिछानेलाई हिरासतमा पठाएन। 

'छाड्नमा इजलासले कुनै आधार भन्दा पनि विश्वास गरेको हो। भोलि उहाँका वकिलले लामिछानेलाई अदालतमा ल्याउनुहुन्छ,' तहसिलदार खतिवडाले भने। 

आदेशपछि लामिछाने श्रीमती निकिता पौडेलसँगै अदालतबाट निस्किएका छन्।

उक्त मुद्दामा बिहीबारदेखि थुनछेक बहस हुनेछ।

लामिछानेविरुद्ध बुटवलको सुप्रिम सहकारीको बचत ठगी आरोपमा पूरक अभियोग दर्ता भएको थियो।

लामिछाने, छविलाल बन्जाडे जोशी, जीबी राईसहित पूरक अभियोगका १४ र यसअघिको मुद्दाका २८ गरी ४२ जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ। 

 

प्रकाशित मिति: १८:२४ बजे, बुधबार, माघ ९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्