प्रधामन्त्रीले संयन्त्रले देश चलाउन खोजेको डा. कोइरालाको आरोप
‘हामी डेमोक्रेटिक सिस्टममा छौं, डेमोक्रेटिक सिस्टममा संयन्त्रले देश चलाउने होइन सरकारले चलाउने हो,’ नेता कोइरालाले भने, ‘संयन्त्रले देश चलाउन खोज्दै हुनुहुन्छ प्रधानमन्त्रीज्यू, यो गलत हो, विलकुल गलत हो।’मोरङ, माघ ९ : कांग्रेस नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री केपी ओलीले संयन्त्रबाट देश चलाउन खोजिरहेको आरोप लगाएका छन्।
बुधबार विराटनगर पुगेका नेता कोइरालाले विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा सरकारले देश चलाउनु पर्नेमा प्रधानमन्त्री ओलीले संयन्त्रमार्फत चलाउन खोजेको बताए।
‘हामी डेमोक्रेटिक सिस्टममा छौं, डेमोक्रेटिक सिस्टममा संयन्त्रले देश चलाउने होइन सरकारले चलाउने हो,’ नेता कोइरालाले भने, ‘संयन्त्रले देश चलाउन खोज्दै हुनुहुन्छ प्रधानमन्त्रीज्यू, यो गलत हो, विलकुल गलत हो।’
कांग्रेस–एमालेको गठबन्धन सरकार बनेपछि सरकार सञ्चालका लागि संयन्त्र बनाएका छन्।
कोइरालाले सरकार चलाउन संयन्त्र बनाउने काम गलत भएको बताउँदै संयन्त्र कम्युनिष्ट मुलुकमा मात्रै हुने बताए।
‘२०५१ सालमा एमालेको सरकार थियो, त्यो बेला सचिवको कोठामा एक जना एमालेको आधिकारिक व्यक्ति बस्नुहुन्थ्यो,’ उनले भने,‘ हामी जस्तो मान्छे जाँदा खेरी उहाँको के काम छ भन्दै सोध्नुहुन्थ्यो, फेरि संयन्त्रले त्यही गर्न खोजेको छ।’
यस्तै, नेता कोइरालाले सरकारले ल्याएको अध्यादेशप्रति पनि असन्तुष्टी जनाए। उनले देशै नचल्ने अवस्थामा मात्रै अध्यादेश ल्याउनु पर्ने बताए।
दुई ठूला दल कांग्रेस र एमालेको बलियो सरकार रहेका बेलामा समेत अध्यादेश ल्याइनु गलत भएको उनको भनाई थियो। ‘कांग्रेस र एमालेको बहुमत छ। बहुमतले पास गर्ने हो नि ! ऐन बनाउन दुई तिहाइ त चाहिँदैन’, उनले भने।
नेता कोइरालाले संविधान भन्नेबित्तिकै कांग्रेस–एमालेको मात्रै नहुने भएकोले सबैलाई समेटेरमात्रै संशोधन गर्न सकिने बताए। उनले संविधान सबैलाई पाच्य हुनुपर्ने बताउँदै दुई तिहाइ पुर्याएर संशोधन गर्दिन्छौं भन्नु गलत हुने बताए।
अहिले कांग्रेस–एमालेबीच अलिअलि छलफलमात्रै भएको भन्दै उनले यो सबैको माझमा जानुपर्ने, त्यतिकै नहुने बताए।