नेपाल बारले अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने, राष्ट्रपतिबाट उद्घाटन तय
नेपाल बार एसोसिएसनले आगामी फागुन ३ गतेदेखि ५ गतेसम्म ल एसिया अन्तर्राष्ट्रिय मानव अधिकार सम्मेलनको आयोजना गर्ने भएको छ।काठमाडौं, माघ ८ : नेपाल बार एसोसिएसनले आगामी फागुन ३ गतेदेखि ५ गतेसम्म ल एसिया अन्तर्राष्ट्रिय मानव अधिकार सम्मेलनको आयोजना गर्ने भएको छ।
बारले मंगलबार पत्रकार सम्मेलन गर्दै दुई दिनसम्म अन्तरराष्ट्रिय सम्मेलनको आयोजना गर्ने जानकारी दिएको हो । उक्त सम्मेलनको राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्ने भएका छन्।
सम्मेलनका लागि मानव अधिकारको सहनशीलता, प्राविधिक, वातावरणीय र सामाजिक चुनौतीहरूको सामना भन्ने विषयवस्तु तय गरिएको नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले बताए। सम्मेलनमा मानव अधिकार, आदिवासी जनजाति, समुदायका अधिकारहरू गरी १२ वटा विषयगत सत्रमा छलफल हुने छ।
‘नेपालमा पहिलो पटक सम्मेलनको आयोजना गर्न पाउँदा गर्व महसुस भएको छ,’ बार अध्यक्ष घिमिरेले भने, ‘विश्वभरका न्यायपालिका, कानुन व्यवसायी, मानवअधिकारकर्मीहरूको सहभागितामा नेपालमा हुने यस सम्मेलनले नेपालको मानवअधिकार संरक्षण र प्रबर्द्धनमा योगदान पुग्ने विश्वास छ।’
उक्त सम्मेलनमा ल एसियाका सदस्य र गैर सदस्य गरी २० भन्दा बढी राष्ट्रका १५० भन्दा बढी प्रतिनिधिहरूले सहभागिता हुने बारले जनाएको छ । अन्तरराष्ट्रिय संस्था ल एसियाले कानुनी पेसाको हक अधिकारका लागि विगत ५० वर्षदेखि काम गर्दै आएको छ ।