अदालत हाजिर हुन लामिछाने भैरहवा पुगे
काठमाडौं, माघ ८ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछाने अदालतमा हाजिर हुन मंगलबार भैरहवा पुगेका छन्।
लामिछाने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बुद्ध एयरको जहाजमा भैरहवा पुगेका हुन्। सुप्रिम सहकारी अपचलनको मुद्दामा अदालत हाजिर हुन उनी त्यसतर्फ गएका हुन्।
लामिछानेको भैरहवामा पार्टीका कार्यकर्तासँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको जनाइएको छ। लामिछाने देवकोटा चोकस्थित मेरिगोल्ड होटलमा बस्ने छन्। लामिछाने बुधबार अदालतमा हाजिर हुनेछन्।
सुप्रीम सहकारीको बचत रकम अपचलन आरोपमा लामिछानेविरुद्ध आइतबार रुपन्देही जिल्ला अदालतमा पूरक निवेदन दर्ता भएको थियो। सुप्रीम ठगी प्रकरणमा लामिछाने, छविलाल जोशी, जीबी राईसहित ४२ जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ।
लामिछानेबाट मात्रै ४ करोड बढी विगो रकम माग गरिएको छ । यी प्रतिबादी मध्ये लामिछाने र जोशीसहित २२ जनाविरुद्ध सहकारी ठगी र संगठित अपराध कसुरमा पूरक अभियोग दर्ता भएको छ।