उर्जामन्त्री खड्काबारे लेखा समितिमा छलफल गर्न माग
समितिको मंगलबारको बैठकमा माओवादी सांसद अमनलाल मोदीले ऊर्जामन्त्रीको विषय सार्वजनिक रुपमा उठिरहेकाले समितिमा छलफल गर्नुपर्ने माग गरे।काठमाडौं, माघ ८ : सार्वजनिक लेखा समितिको छलफलमा ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काका विषयमा छलफल हुनुुपर्ने माग उठेको छ।
जलविद्युत्का ठूला आयोजनाका बिषयमा प्रश्न उठेको बताउँदै सार्वजनिक लेखा समितिको बैठक बोलाउनुपर्ने माग भएको हो। समितिको मंगलबारको बैठकमा माओवादी सांसद अमनलाल मोदीले ऊर्जामन्त्रीको विषय सार्वजनिक रुपमा उठिरहेकाले समितिमा छलफल गर्नुपर्ने माग गरे।
‘कसले कताका चेक कता पठायो भन्ने सार्वजनिक सञ्चारमाध्यममा आइरहेको छ। ऊर्जामन्त्रीको बारेमा विषय उठिराखेको छ। त्यसको बारेमा सार्वजनिक लेखा समितिमा कुरा गर्नुपर्छ कि पर्दैन? उजुरी आएपछि कसैले निवेदन हालेपछि मात्रै हुँदैन, समितिले आफै पनि छलफल गर्नुपर्छ,’ मोदीले भने।
सांसद मोदीले समितिमा उजुरी आएमात्र छलफल हुने नभए छलफल नै नहुने अभ्यास गलत रहेको पनि बताए।
आयोजनाका सम्बन्धमा भएका अनियमिततालगायतका सार्वजनिक महत्वका विषयमा लेखा समितिमा छलफल हुनुपर्ने भनाई उनको थियो।
सांसद मोदीले भने, ‘सार्वजनिक महत्त्वका विषयमा लेखा समितिमा छलफल हुनुपर्छ। ती विषय समितिमा प्रवेश गराउनुपर्छ । समितिमा उजुरी नगर्दा पनि प्रवेश गराउनुपर्ने हुन्छ।’