आदिवासी जनजाति समुदायका आदिकविहरूको नाम उपलब्ध गराउन राष्ट्रपतिको आग्रह
राष्ट्रपति पौडेलले मगर, राईलगायत आदिवासी जनजाति समुदायभित्र रहेका विभिन्न जातीहरूका आदिकविको नाम र शालिक उपलब्ध भएको खण्डमा तनहुँको चुँदीरम्घामा निर्माण हुने भानु साहित्य उद्यानमा राख्ने योजना रहेको बताए।काठमाडौं, माघ ८ : राष्ट्रपति रामचन्द्र पौडेलले आदिवासी, जनजाति समुदायका आदिकविहरूको नाम उपलब्ध गराउन आग्रह गरेका छन्।
राष्ट्रपति पौडेलले मगर, राईलगायत आदिवासी जनजाति समुदायभित्र रहेका विभिन्न जातीहरूका आदिकविको नाम र शालिक उपलब्ध भएको खण्डमा तनहुँको चुँदीरम्घामा निर्माण हुने भानु साहित्य उद्यानमा राख्ने योजना रहेको बताए।
मंगलबार शीतलनिवासमा आदिवासी जनजाति आयोगको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन बुझ्नेक्रममा यस्तो आग्रह गरेका हुन्। आदिवासी, जनजाति समुदायभित्र रहेका आदिकविहरूको नाम र शालिक उपलब्ध गराउन आग्रह गरेका हुन्।
राष्ट्रपति पौडेलले चार सय रोपनी जग्गा सरकारसँग लिएर आदिकवि भानुभक्त आचार्यको जन्मस्थान चुँदीरम्घामा भानु साहित्य उद्यान बनाउन लागेको बताए। त्यहाँ बनाइने मूर्ति वाटिकामा विभिन्न जातजातिका आदिकविको मूर्ति रहने जानकारी पनि उनले दिए।
‘त्यहाँ सबै भाषाका मूर्धन्य श्रष्टाहरू त्यहाँ रहन्छन्। भानुभक्तसहित सबै भाषाका आदिकविको मूर्ति रहन्छ। त्यो को–को हुन्, मगर, राई भाषाका आदिकवि उहाँहरूको नाम र मूर्ति चहियो,’ राष्ट्रपति पौडेलले भने।
प्रतिवेदन बुझ्नेक्रममा राष्ट्रपति पौडेलले आदिवासी, जनजाति समुदायको भाषा, लिपी, संस्कृति, इतिहास, परम्परा, साहित्य, कलाको संरक्षण, संवद्र्धन एवम् विकास तथा सो समुदायको सशक्तीकरण गरी सर्वाङ्गिण हितलाई सुनिश्चित गर्ने सन्दर्भमा नेपालको संविधान एवम् कानुनले आयोगलाई महत्त्वपूर्ण जिम्मेवारी दिएको पनि बताए।