Kathmandu Press

ऐन संशोधन गर्न बनेको अध्यादेश सदनमा पेस

कोशी प्रदेशसभाको आजको बैठकमा ‘कोशी प्रदेश ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०८१’ पेस भएको छ ।
ऐन संशोधन गर्न बनेको अध्यादेश सदनमा पेस

विराटनगर, माघ ७ : कोशी प्रदेशसभाको आजको बैठकमा ‘कोशी प्रदेश ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०८१’ पेस भएको छ ।

प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले सो अध्यादेशसँगै मुख्य न्यायाधिवक्ताको काम, कर्तव्य, अधिकार र सेवाको शर्त सम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक सदनमा प्रस्ताव गर्दै प्रदेश सरकारले गर्ने मानवीयदेखि अन्य कामलाई सहज बनाउन यो ऐन ल्याएको बताए।

उनले सरकारले विपद्का क्षेत्रमा धेरै काम गर्नु पर्ने र मौजुदा ऐनमा भएको त्रुटिले काम गर्न समस्या भएकाले सो अध्यादेश ल्याएको जानकारी दिँदै सरकार शान्ति सुरक्षाका विषयमा गम्भीर रहेको बताए।

Hardik ivf

मन्त्री भण्डारीले पूर्वमुख्यमन्त्री एवं नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापामाथि भएको दुव्र्यवहारको घटनाको निन्दा गर्दै दोषीमाथि कारबाही गर्ने बताए।  

सभामा सभामुख अम्बरबहादुर विष्टद्वारा सदनमा अनुमोदनका लागि पेस गरिएको बाधा अड्काउ फुकाउने आदेश सर्वसम्मतिले पारित भएको छ।

प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलका नेताहरुको बोल्ने क्रममा नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले चालु आर्थिक वर्ष २०८१/८२ का लागि प्रदेश सरकारले ल्याएको बजेटमा सन्तुलन कायम नभएकाले कार्यान्वयनमा समस्या आएको उल्लेख गर्दै सरकारले यसमा सुधार गर्नुपर्नेमा जोड दिए।

उनले आफूमाथि भएको आक्रमण सुनियोजित नभएकाले कारबाही नगर्न प्रदेश सरकारलाई आग्रह गरे।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) कोशी प्रदेश संसदीय दलका उपनेता तिलकुमार मेङ्याङ्बोले सरकारले हिउँदे अधिवेशन उचित समयमा सुरु गरेको बताए। उनले सुखी नेपाली र समृद्ध नेपाल बनाउने सङ्कल्प पूरा गर्न सबै एकजुट हुनुपर्ने बताए।

यस्तै नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) कोशी प्रदेश संसदीय दलका नेता एवं पूर्वमुख्यमन्त्री राजेन्द्रकुमार राईले चालु आर्थिक वर्षको बजेट कार्यान्वयनमा सरकार उदासीन छ भन्दै सालबेसाली र बहुवर्षीय योजनाका ठेक्का अहिलेसम्म नलाग्नु दुःखद रहेको बताए।

उनले अधिवेशनको सफलताको कामना गर्दै बाढीका कारण भत्किएका संरचना निर्माण गर्न सरकारले ध्यान दिनुपर्ने कुरामा जोड दिए।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो, राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका नेता भक्तिप्रसाद सिटौला र नेपाल समाजवादी पार्टी नेपालका संसदीय दलका नेता निर्मला लिम्बूले मुलुकको समसामयिक विषयमा धारणा राख्दै अधिवेशन सफलताको कामना गरेका थिए। अर्को बैठक मङ्गलबार बिहान ११:३० मा बस्नेछ।

प्रकाशित मिति: २०:३४ बजे, सोमबार, माघ ७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्