चितवनकाे सहारा सहकारी ठगी प्रकरणमा लामिछानेसहित १४ जनाविरुद्ध मुद्दा चलाउन प्रहरीको माग
अहिले लामिछानेसहितका १४ नयाँ प्रतिवादी समेत थपिएपछि कुल बिगो रकम ३८ करोड ९ लाख ७९ हजार एक सय ७७ रुपैयाँ दाबी गरिएको छ।चितवन, माघ ७ : भरतपुरमा रहेको साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलन प्रकरणमा प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १४ जनालाई प्रतिवादी बनाउनुपर्ने रायसहित अनुसन्धान प्रतिवेदन सरकाी वकील समक्ष बुझाएको ।
दोस्रो चरणको अनुसन्धान सकेर प्रहरीले फाइल सरकारी वकील समक्ष बुझाएको हो। सहारा सहकारी ठगी प्रकरणमा यसअघि गत भदौ ८ गते १७ जनालाई प्रतिवादी बनाउँदै मुद्दा दायर भएको थियो।
त्यतिबेला ३७ करोड ६५ लाख ८४ हजार ५४६ रुपैयाँ अपचलन भएको निष्कर्ष निकाल्दै मुद्दा दायर गरिएको थियो। अहिले लामिछानेसहितका १४ नयाँ प्रतिवादी समेत थपिएपछि कुल बिगो रकम ३८ करोड ९ लाख ७९ हजार एक सय ७७ रुपैयाँ दाबी गरिएको छ।
गत मंसिरमा २४ बचतकर्ताले लामिछानेसहित १० जनाविरुद्ध चितवन प्रहरीमा जाहेरी दिएका थिए। सोही जाहेरीका आधारमा चितवन प्रहरीले दोस्रो चरणको अनुसन्धान अघि बढाएको थियो।
पुरक जाहेरीमा पीडितले लामिछानेसहित पूर्वडीआईजी छविलाल जोशी, जीबी ग्रुप अफ कम्पनीका सेयरधनी विशाल तामाङ, सेयरधनी नवीन अछामी, रबिना रिमाल, असरफ अली सिद्दिकी, दीपक लामा, भगवती बम्जन, कविता तामाङ र रामबहादुर खनालमाथि कारबाहीको माग गरिएको छ।
उनीहरुलाई ठगी र संगठित अपराधको कसुरमा मुद्दा चलाउनुपर्ने राय प्रहरीले सरकारी वकीललाई दिएको छ।