Kathmandu Press

आज यसकारण दर्ता हुन सकेन रूपन्देही अदालतमा रवि लामिछानेविरूद्ध मुद्दा

तर अपराह्नसम्म मुद्दा दर्ता हुन नसक्दा सुप्रिम सहकारी ठगीबारे अब आइतबारमात्रै मुद्दा दर्ता हुने भएको छ।
आज यसकारण दर्ता हुन सकेन रूपन्देही अदालतमा रवि लामिछानेविरूद्ध मुद्दा

काठमाडौं, माघ ४ : बुटवलको सुप्रिम सहकारी संस्थाको बचत अपचलन मुद्दा शुक्रबार जिल्ला अदालत रुपन्देहीमा दर्ता गर्ने तयारी थियो।

जिल्ला सरकारी वकिल कार्यालयले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र गोर्खा मिडियाका तत्कालीन उपाध्यक्ष पूर्वडिआइजी छबिलाल जोशीसहित १४ जनाविरूद्ध पूरक मुद्दा दर्ता गर्ने तयारी थियो।

तर अपराह्नसम्म मुद्दा दर्ता हुन नसक्दा सुप्रिम सहकारी ठगीबारे अब आइतबारमात्रै मुद्दा दर्ता हुने भएको छ।

जिल्ला सरकारी वकिल कार्यालय रूपन्देहीका अनुसार सर्वोच्च अदालतमा पठाइएको सक्कल फाइल आउन ढिला भएका कारण शुक्रबार पूरक मुद्दा दर्ता नभएको हो।

पूरक अभियोजन फाइल भएपनि अदालतमा पुरानो सक्कल फाइल आउन ढिलाइ भएका कारण अब आइतबारमात्रै मुद्दा दर्ता हुनसक्ने रूपन्देही जिल्ला सरकारी वकिक कार्यालयले जनाएको छ।

इलाका प्रहरी कार्यालय बुटवलले पुस २६ गते लामिछानेसहितलाई प्रतिवादी बनाउनुपर्ने रायसहितको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयलाई बुझाएको थियो।

यसअघि वैशाख ३ गते २८ जनालाई प्रतिवादी बनाएर सहकारी ठगीसम्बन्धी कसुरमा १ अर्ब ३ करोड बिगो माग गरी मुद्दा दायर गरेको थियो। सोही मुद्दामा प्रतिवादी रहेकामध्ये १७ जनालाई सहकारी ठगीसहित संगठित अपराधको कसुर र थप बिगोसहितको मुद्दा दर्ताका लागि बिहीबार अदालतमा पेस गरिएको थियो।

लामिछाने र जोशीसहितका थप १४ जनाविरूद्ध शुक्रबार पूरक मुद्दा दर्ता गर्ने तयारी थियो।

सुप्रिम सहकारीबाट लामिछानेले २ करोड र जिबी राई सम्बद्धहरूको नामबाट १४ करोड २९ लाख रुपैयाँ विभिन्न व्यक्तिमार्फत् गोर्खा मिडिया नेटवर्कमा पुगेको संसदीय छानबिन विशेष समिति र प्रहरीको प्रतिवेदनमा उल्लेख छ।

प्रकाशित मिति: १९:०० बजे, शुक्रबार, माघ ४, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्