निकोलस भुसाल ५० हजार धरौटीमा छुटे
कास्की जिल्ला अदालतमा मुद्दा दर्ता गर्दै बयान र थुनछेक बहस सकिएपछि ५० हजार रुपैयाँ धरौटी रकम माग भएको थियो।
पोखरा, माघ ४ : रास्वपा सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछाने प्रहरी हिरासतमा सुतिरहेको तस्वीर खिचेर सार्वजनिक गर्ने डा.निकोलस भुसाल ५० हजार रुपैयाँ धरौटी रकम बुझाएर शुक्रबार छुटेका छन्।
पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणको अनुसन्धान चलिरहेका बेला उनले गत मंसिर २९ गते लामिछाने प्रहरी हिरासतमा सुतिरहेको फोटो सार्वजनिक गरेपछि विद्युतीय कारोबार ऐनविरुद्धको कसुर (साइबर अपराध) को कसुरमा पक्राउ गरी मुद्दा चलाईएको थियो।
कास्की जिल्ला अदालतमा मुद्दा दर्ता गर्दै बयान र थुनछेक बहस सकिएपछि ५० हजार रुपैयाँ धरौटी रकम माग भएको थियो।
कास्की जिल्ला न्यायाधीश शंकरबहादुर राईको इजलासले मागेको धरौटी रकम बुुझाए उनी थुनामुक्त भएका हुन्।
सरकारी वकिलको कार्यालयले भुसालविरुद्ध १ लाख रुपैयाँ जरिवाना र ५ वर्ष कैद सजायको मागदाबीसहित अभियोग पत्र दर्ता गरेको थियो।
विद्युतीय सञ्चार माध्यमको दुरुपयोग गरेर सुरक्षा संवेदनशीलता, मुद्दाको अनुसन्धान तथा अभियोजनमा आँच पुर्याएको , गोपनीयता भंग हुने सामग्री प्रकाशन गरेको र सुरक्षामा प्रभाव पार्ने काम गरेको आरोप भुसालमाथि लगाइएको छ।












