Kathmandu Press

भेरी करिडोर सडक स्तरोन्नति गर्न चार अर्ब बजेट सुनिश्चित

नलगाड नगरपालिका–१२ तल्लुदेखि डोल्पाको त्रिपुराकोटसम्म स्तरोन्नति गर्न मन्त्रालयले उक्त बजेट सुनिश्चित गरेको हो।
भेरी करिडोर सडक स्तरोन्नति गर्न चार अर्ब बजेट सुनिश्चित

सुर्खेत, माघ ३ : कर्णाली प्रदेशको महत्वपूर्ण आयोजनाका रुपमा रहेको भेरी करिडोर सडक खण्डको स्तरोन्नति गर्न अर्थ मन्त्रालयले चार अर्ब २० करोड बजेट सुनिश्चित गरेको छ।

नलगाड नगरपालिका–१२ तल्लुदेखि डोल्पाको त्रिपुराकोटसम्म स्तरोन्नति गर्न मन्त्रालयले उक्त बजेट सुनिश्चित गरेको हो।

भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयको आग्रहमा अर्थले बजेट सुनिश्चित गरेको प्रतिनिधिसभा सदस्य तथा पूर्व सहरी विकासमन्त्री धनबहादुर बुढाले जानकारी दिए।

Hardik ivf

लामो समयदेखि बजेट अभावले रोकिएको करिडोर निर्माणले अब गति लिने पूर्वमन्त्री बुढाले बताए। 

भेरी करिडोर सडक २१७ किलोमिटर हुने जनाइएको छ।

त्यसमध्ये जाजरकोट–डोल्पा सदरमुकाम दुनैसम्म एक सय १८ किलोमिटर छ।

हाल जाजरकोटबाट तल्लुसम्मको ६२ किलोमिटर खण्डमा स्तरोन्नति भइरहेको छ।

अब तल्लुबाट दुनै सम्मको बाँकी ५६ किलोमिटर सडकमध्ये तल्लु–त्रिपुराकोटसम्मको ४२ किलोमिटर सडक स्तरोन्नति गरिने भएको हो।

बजेट सुनिश्चित भएसँगै नेपाली सेनाले ट्र्याक खोलेको उक्त खण्डमा अब नयाँ ठेक्का आह्वान गरी स्तरोन्नति गरिने भेरी करिडोर आयोजना प्रमुख सुनिल रञ्जितकारले जानकारी दिए।

पूर्वमन्त्री बुढाका अनुसार केही दिनमा पुल निर्माणका लागिसमेत बजेट सुनिश्चित गर्ने तयारी भइरहेको छ । हाल बेलिब्रिज भएको स्थानमा पक्की पुल निर्माण गर्ने आयोजनाको लक्ष्य छ। 

त्रिदेशीय सडकको रूपमा विकास गर्ने लक्ष्य लिइएको भेरी करिडोरको दुनै–लासिक्याप खण्डको काम निर्माण व्यवसायीले ढिलाइ गर्दा लक्ष्यअनुसार उपलब्धि नहुने सम्भावना बढेको छ।

ठेक्काको म्याद सकिन एक वर्ष बाँकी हुँदा पनि १५ प्रतिशत मात्र भौतिक प्रगति रहेको छ।

उक्त सडक खण्ड निर्माण गर्न सूर्य–श्रेया–शान्तिदेवी जेभी काठमाडौँले रु १३ करोड ४२ लाखमा ठेक्का लिएको थियो ।

लासिक्यापबाट मरिमसम्मको सडक नेपाली सेनाले निर्माण गर्ने तयारीका साथ सेनाले रक्षा मन्त्रालयबाट भौतिक मन्त्रालयमा अनुमतिका लागि पत्र पठाइसकेको छ।

कर्णेल विश्वबन्धु पहाडीको नेतृत्वमा रहेको नेपाली सेनाले भेरी करिडोर अन्तर्गत जाजरकोट सदरमुकामदेखि डोल्पाको सदरमुकाम दुनैसम्म सडक ट्र्याक खोल्ने काम विसं २०६५ मा सुरु गरेको थियो।

दुनैबाट चीनको सिमानासम्म रहेको मरिम नाकासम्मको कूल एक सय किलोमिटरमध्ये नेपालतर्फ ४० किलोमिटर सडक निर्माण भइसकेको छ। दुनैबाट धोसम्म सडक बन्न बाँकी छ।

भेरी करिडोरको जाजरकोट–डोल्पा सडक खण्डको पुल निर्माणको ठेक्का क्याराभान हिराचन जेभीले लिए पनि काम सुरु गरेको छैन । जेभीले विसं २०७७ माघ २ गते जाजरकोटको नलगाड खोला, झुम्रेखोलामा पुल निर्माणको ठेक्का लिएको थियो।

त्यस्तै सोही कम्पनीले २०७७ माघ २ मै मैदेखोला, त्रात्र खोला, ताक्सुगाडमा पुल निर्माणको ठेक्का लिएको थियो । ठेक्का लिने तर काम नगर्नाले भेरी करिडोरमा पक्की पुल निर्माण हुनसकेका छैनन्।

प्रकाशित मिति: १७:२८ बजे, बिहीबार, माघ ३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्