विपीनको रिहाइका लागि अधिकतम पहल भएको छ : परराष्ट्रमन्त्री राणा
हमाससँग बन्दी रिहाइका लागि मध्यस्थता गरिरहेका कतारका विदेशमन्त्रीसँग आफूले कुरा गर्ने प्रयास गरिरहेको र एक–दुई दिनमा कुराकानी गरी उहाँसँग पनि यसै विषयमा अनुरोध गर्ने मन्त्री डा. राणाले जानकारी दिइन्।
काठमाडौं, पुस २९ : परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले हमासको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशीको रिहाईका लागि मन्त्रालयले अधिकतम पहल गरेको बताएकी छिन्।
सोमबार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा भएको बैठकमा उनले केही दिनमात्र अघि आफूले नेपालका लागि इजरायल, इजिप्ट र कतारका राजदूतमार्फत ती देशसँग विपीनको रिहाइका लागि पहल गरिदिन पुनःआग्रह गरेको जानकारी दिइन्।
हमाससँग बन्दी रिहाइका लागि मध्यस्थता गरिरहेका कतारका विदेशमन्त्रीसँग आफूले कुरा गर्ने प्रयास गरिरहेको र एक–दुई दिनमा कुराकानी गरी उहाँसँग पनि यसै विषयमा अनुरोध गर्ने मन्त्री डा. राणाले जानकारी दिइन्।
हमासले पहिलो चरणमा आफ्नो नियन्त्रणमा रहेका बृद्धबृद्धा, महिला, बालबालिका एवं नाजुक स्वास्थ्य अवस्थामा रहेका व्यक्तिलाई रिहा गर्ने तयारी गरेको भन्ने सूचना आएकाले यही चरणमै विपीनको पनि रिहाइका लागि पहल गरिदिन आफूले विदेशी समुदाय र सरोकारवालाहरुसँग आग्रह गरिरहेको बताइन्।
केही समय मात्र अघिसम्म विपीन जीवितै रहेको भन्ने सूचना प्राप्त भएकाले रिहाइको पहललाई आफूले सशक्त रुपमा अघि बढाएको र संयुक्त राष्ट्रसङ्घ, विभिन्न अन्तर्राष्ट्रिय एवं क्षेत्रीय मञ्चका साथै द्विपक्षीय एवं बहुपक्षीय बैठकहरुमा अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरिएको उनले बताइन्।











