बृहतरूपमा स्वाब संकलन गर्न स्वास्थ्यकर्मी प्रदेश नं २ प्रस्थान
काठमाडौं, वैशाख १२ : कोभिड–१९ को जोखिम हुन नदिन स्वाब संकलन गरी परीक्षण गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र सुरक्षाकर्मीको स्वास्थ्यकर....

काठमाडौं, वैशाख १२ : कोभिड–१९ को जोखिम हुन नदिन स्वाब संकलन गरी परीक्षण गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र सुरक्षाकर्मीको स्वास्थ्यकर्मीको टोली प्रदेश नं २ तर्फ प्रस्थान गरेको छ।
काठमाडौँको छाउनीस्थित ‘कोभिड–१९ क्राइसिस मेनेजमेन्ट सिस्टम’ (सिसिएमसी ओप्स) को योजनाअनुरुप सो टोली आज त्यसतर्फ प्रस्थान गरेको हो।
प्रदेश नं २ प्रदेशअन्तर्गतका बारा, पर्सा, महोत्तरी, धनुषा, रौतहट, सर्लाही, सिराहा र सप्तरी जिल्लाका २६ स्थानमा करिब एक हजार ५२० जनाको स्वाब संकलन गर्न मन्त्रालय, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका स्वास्थ्यकर्मीको संयुक्त छ टोली त्यसतर्फ प्रस्थान गरेको हो।
उक्त टोलीले शुक्रबार र शनिबार दुई दिनमा उल्लेखित एक हजार ५२० जनाको स्वाब संकलन गरी परीक्षणका लागि काठमाडौँलगायत विभिन्न स्थानमा रहेका प्रयोगशालामा पु¥याउने योजना रहेको सिसिएमसी ओप्सले जनाएको छ।
नेपाल सरकारको कोभिड–१९ नियन्त्रण रणनीतिअन्तर्गत रहेर सिसिएमसी ओप्सको योजनाअनुसार मन्त्रालय र नेपाली सेनाको संयुक्त टोलीले उदयपुरको विभिन्न स्थानमा यही वैशाख ७ गते र ८ गते २५२ वटा स्वाब संकलन गरी काठमाडौँको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षणका लागि बुझाएको थियो।
यस प्रकारका वृहत स्वाब संकलन र परीक्षणलाई निकट भविष्यमा अन्य प्रदेशहरुमा समेत निरन्तरता दिई कोभिड–१९ को रोकथाम, नियन्त्रण र प्रतिकार्यलाई थप प्रभावकारी बनाइने योजना रहेको सिसिएमसी ओप्सद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।











