माओवादीले ६ महिना अभियान चलाउने त्यसपछि महाधिवेशनको प्रक्रियामा जाने
बैठकले सबै नेताहरूले जिम्मेवारी पाउने गरी कार्ययोजना प्रस्ताव पारित गरेको छ ।काठमाडौं, पुस २३ : नेकपा (माओवादी केन्द्र) ६ महिना अभियान चलाउने र त्यसपछि महाधिवेशनमा जाने निर्णय गरेको छ।
आइताबरदेखि जारी केन्द्रीय समिति बैठकले पहिलो ६ महिना अभियानमा जाने र त्यसपछि अर्को छ महिनाको तयारी गरेर नयाँ विचार संष्लेषणका लागि महाधिवेशनमा जाने निर्णय गरेको हो।
६ महिना अभियानमा गएर असारमा केन्द्रीय समिति बैठक आयोजना गरी अहिलेको केन्द्रीय समितिलाई महाधिवेशन आयोजक समितिमा बदलेर महाधिवेशनको तयारीमा जाने अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले घोषण गरेका छन्।
अभियानबाट व्यापक रूपमा जनताको सुझाव आउने भएकाले ६ महिने अभियान पनि अन्ततः महाधिवेशनकै तयारी हुने उनको भनाइ छ।
माघ महिनाभरि अभियानको तयारी गरेर फागुन १ गते जनयुद्ध मनाएर हुलाकी र पूर्वपश्चिम राजमार्गमा जनतासँग माओवादी अभियान सञ्चालन गर्ने निर्णय बैठकले गरेको छ।
त्यस्तै चैतभरि तयारी गरेर वैशाख महिनाभरि हिमाली र मध्यपहाडी क्षेत्रलाई मध्यनजर गरी मध्य पहाडी लोकमार्गमा जनतासङ्ग माओवादी अभियान सञ्चालन गर्ने निर्णय बैठकले गरेको छ ।
बैठकले सबै नेताहरूले जिम्मेवारी पाउने गरी कार्ययोजना प्रस्ताव पारित गरेको छ ।
सबै नेता पालिका र वडासम्म पुग्ने गरी केन्द्रीय कार्यालयले सबै नेताको एक हप्ताभित्र कार्यविभाजनलाई अन्तिमरूप दिने र माघको पहिलो सातासम्म सर्कुलर गरिने अध्यक्ष दाहालले जानकारी दिए।
बैठकले विचार मिल्ने पार्टीसित एकताको तयारी गर्न उच्चस्तरीय पार्टी एकता संवाद समिति गठन गरेको छ । समितिले चाँडै एकता वार्ताको पहल गर्ने निर्णय गरेको छ ।
प्रचण्डले आठौँ केन्द्रीय समितिको छैटौँ पूर्ण बैठक एकता र विजयको बैठक भएको पनि बताएका छन्।
बैठक ऐतिहासिक र दूरगामी महत्त्वको बैठक भएको बताए।
बैठकले पार्टीभित्र विचार, कार्ययोजना र भावनामा एकरूपता कायम गरेको उल्लेख गर्दै अध्यक्ष दाहालले पार्टीलाई फेरि आफ्नो वर्ग र समुदायतिर फर्काएर यसले विजयको आधार तयार गरेको बताए।
बैठकका निर्णय कार्यान्वयनमा जाँदा समाजवादी क्रान्तिको लागि कोसेढुङ्गा बन्ने र यसले निरन्तरतामा क्रमभङ्ग गरेको जिकिर गरे।