प्रचण्डको राजनीतिक प्रतिवेदनः पार्टीभित्र गुटगत प्रवृत्ति छ, त्यसलाई चिर्दै अघि बढ्नुपर्छ
उनले पार्टीभित्र गुटगत प्रवृत्ति रहेको उल्लेख गर्दै त्यसलाई चिर्दै अघि बढ्नु आजको आवश्यकता भएको प्रतिवेदनमा उल्लेख गरेका छन्।काठमाडौं, पुस २२ : प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आइतबारबाट धुम्बाराहीस्थित एक बैंक्वेटमा जारी छ।
बैठकमा अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक प्रतिवेन प्रतुस्त गरेका छन्। आजको बैठकमा ‘पार्टी रुपान्तरण र पुननिर्माणको सङ्कल्प : आजको आवश्यकता’ शीर्षकको अध्यक्ष दाहालको प्रतिवेदनमाथि छलफल गर्न ३ मिनेटको समय छुट्याइएको छ।
अध्यक्ष दाहालले आफ्नो प्रतिवेदनमा पार्टीभित्र गुट रहेको स्वीकार गरेका छन्। उनले पार्टीभित्र गुटगत प्रवृत्ति रहेको उल्लेख गर्दै त्यसलाई चिर्दै अघि बढ्नु आजको आवश्यकता भएको प्रतिवेदनमा उल्लेख गरेका छन्।
उनले आगामी ६ महिनाभित्र पार्टी सदस्यता ५ प्रतिशत बढाउने कार्ययोजना अगाडि सारेका छन्। ‘हरेक समितिले आगामी ६ महिनाभित्र कम्तिमा संगठित सदस्यता ५ प्रतिशत र आम सदस्यता १० प्रतिशत वृद्धि गर्ने गरी अभियानात्मक कार्यक्रम संचालन गर्नुपर्छ,’ प्रतिवेदनमा भनिएको छ।
अध्यक्ष दाहालले केन्द्रीय कार्यालयको प्रत्यक्ष मार्गनिर्देशन हुने गरी एक वर्षको उपत्यका विशेष अभियान कार्यक्रम सञ्चालन गर्ने उल्लेख गरेका छन्।
‘क्रान्तिको रणनीति तथा कार्यनीति कार्यान्वयन गर्न राजधानी लगायतका शहरहरुमा संगठनको काम र त्यहाँका जनताको सहभागिता र संगठनको ज्यादै ठूलो महत्व रहेको स्पष्ट छ,’ प्रतिवेदनमा भनिएको छ, ‘यतिबेला हाम्रो संगठन संघीय राजधानी काठमाडौं उपत्यकामा निकै कमजोर अवस्थामा छ। त्यसैले हामीले उपत्यकामा संगठन निर्माण र विस्तारको कामलाई समान्य ढंगले लिएर सफल हुन सक्दैन । पार्टीले यसका लागि विशेष योजना सहित अभियान सञ्चालन गर्नुपर्दछ।’
आजको बैठकमा राजनीतिक प्रतिवेदनबारे स्पष्टीकरण दिँदै अध्यक्ष दाहालले कसैलाई घोचपोच, काखापाखा र लक्षित गरेर नल्याएको बताएका छन्।